सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब आक्रमणमा सम्लग्नलाई कारबाहीका लागि जारी भएको अध्यादेशलाई संसद्मा प्रवेश नदिने नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको प्रयास गलत भएको बताएका छन् । अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित समारोहमा उनले मध्यावधि निर्वाचनबाट ताजा जनादेश लिएर राष्ट्रनिर्माणमा होमिने सदाशयबाट प्रेरित आफ्नो निर्णयविरुद्ध मुद्दा दायर गरी संसद् पुनःस्थापना गराइए पनि जनताका मुद्दामा छलफल गर्ने थलोमा तेजाब आक्रमणकारीलाई नियन्त्रणसम्बन्धी अध्यादेशलाई अगाडि बढाउन नदिइएकामा आपत्ति जनाए । प्रतिनिधिसभाको आइतबारको बैठकमा सत्तापक्षका केही र प्रतिपक्षका सांसद्ले अध्यादेशहरू कार्यसूचीमा ल्याएकामा विरोध जनाएका थिए । उनले महिलालाई शिक्षा, रोजगारी र सम्पत्ति प्राप्तिमा सशक्त तुल्याउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताउँदै नारी जगत्को उत्थान र उन्नयनतर्फ नै सरकारले आफ्नो ध्यान केन्द्रित गरेको बताए । महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्नेतर्फ सरकार प्रतिबद्ध रहेको दोहो¥याउँदै उहाँले महिलालाई विकासको मूल प्रवाहमा समाहित गर्न र पुरुष समान बनाउन आरक्षणको व्यवस्था गरिएको बताए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले दिगो आर्थिक विकास तथा समृद्ध समाज निर्माणका लागि महिलालाई शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सुविधा र अवसर दिनुपर्ने बताइन् । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले पछिल्लो समय महिला हिंसाका घटना बढेकामा चिन्ता व्यक्त गर्दै हिंसाबाट महिलालाई जोगाउनु चुनौतीपूर्ण भएको बताइन् । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले महिला हिंसा अन्त्य गर्न बनाइएका सबै ऐन÷कानूनको अक्षरशः पालना र कार्यान्वयन गर्नैैपर्ने बताइन् ।–रासस