नमोबुद्ध नगरपालिकालाई एम्बुलेन्स 

मंगलबार, फागुन २५, २०७७

बनेपा । बेन चोङ एन्ड फ्रेन्ड्स म्याजिकल लाइट र किमोलुङ फाउन्डेशन नेपालको सहयोगमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकालाई एक सय ११औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसर पारेर सुविधासम्पन्न एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।
दुवै संस्थाले सहयोगस्वरूप नगरपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स आज नगरपालिकालाई हस्तान्तरण गरिएको छ । किमोलुङ फाउन्डेशनका संस्थापक अध्यक्ष वाङचुक राप्तेन लामाले नमोबुद्ध नगरप्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनालाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरे । प्राप्त एम्बुलेन्स नमोबुद्ध नगरपालिकाले फेन्दे फाउन्डेशन नेपालअन्तर्गत नमोबुद्ध–१ मा सञ्चालित ठ्राङ्गु फेन्दे क्लिनिकलाई प्रदान गर्ने भएको छ । क्लिनिकले नगरपालिकाका दाप्चा भेगका सर्वसाधारणका लागि लक्षित गर्दै एम्बुलेन्स सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ । सो अवसरमा नगरप्रमुख तिमल्सिनाले नगरवासीको स्वास्थ्य सेवामा किमोलुङ फाउन्डेशनसहितका दातृ संस्था तथा वाङचुक राप्तेन लामालाई सम्मान गरे । फाउन्डेशनका संस्थापक अध्यक्ष लामाले आफू केही समय नमोबुद्ध नगरपालिकाको स्वास्थ्य सेवामा सक्रिय रहेर सेवा गरेको उल्लेख गर्दै नगरवासी महिलाहरूको स्वास्थ्य समस्यालाई नजिकैबाट नियालेका कारण उनीहरूको सेवाका लागि एम्बुलेन्स सहयोग गरेको बताए ।  कोभिड महामारीको समयमा समेत सो संस्थाले नगरपालिकाभित्रका विपन्न नागरिकलाई राहत वितरणलगायतका कार्यमा सहयोग गरेको चर्चा गर्दै उनले आगामी दिनमा पनि नमोबुद्ध नगरवासीका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  ०५:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार