छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन आवश्यक : मुख्यमन्त्री राउत

मंगलबार, फागुन २५, २०७७

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन जरूरी रहेको धारणा व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा  ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा सोमबार आयोजित सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण समारोहमा मुख्यमन्त्री राउतले छोरीलाई अभिशाप, समस्याका रूपमा लिने संरचनागत मनोवृत्तिमा सुधारको खाँचो औँल्याए । उनले नारीप्रति अपमान, एसिड प्रहारलगायतका हिंसाजन्य क्रियाकलाप गर्नेलाई साधारण सजाय नदिई फाँसी दिने व्यवस्था हुनुपर्ने बताए ।  मुख्यमन्त्री राउतले प्रदेश सरकारले छोरीलाई आत्मनिर्भर र हरेक क्षेत्रमा  अग्रसर हुने विविध योजना सञ्चालन गरिरहेको जानकारी दिए ।  प्रदेश सरकारद्वारा सञ्चालित छोरी बीमा कार्यक्रम गणितीय समस्याका कारण हाल स्थगित भए पनि समस्या समाधान गरी छिट्टै निरन्तरता दिने गृहकार्य भइरहेको उनले बताए ।  समारोहमा धनुषा जिल्लामा रहेका २७ वटा सामुदायिक विद्यालयमा  कक्षा ८ मा अध्ययनरत एक हजार ५२० छात्रालाई साइकल वितरण गरिएको थियो । –रासस
 

प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  ०५:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार