चितवन निकुञ्जले जलायो कुसुमखोलाको १० घर

बुधबार, चैत १६, २०७८

 चितवन, १३ चैत्र २०७८ । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडीको कुसुमखोलामा रहेको १० घरमा आगजनी गरिदिएको छ। निकुञ्जले आफ्नो जंगल क्षेत्रमा घर बनाएर बसोबास गरेको भन्दै स्थानीय बासिन्दाको १० घरमा आज आइतबार आगलागी गरिदिएको हो।

चितवन राष्ट्रिय निकुञ्ज स्रोतका अनुसार चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रमोद यादवको नेतृत्वमा गएका नेपाली सेना सहितको टीमले स्थानीयको घरमा आगो लगाएका हुन्।
‘एकपटक स्थानान्तरण गरिसकेपछि पुनः गएर घर बनाएको हुनाले निकुञ्जले घर जलाएको हो’ निकुञ्ज स्रोतले भन्यो, ‘मानवीय र भौतिक क्षति नहुने गरि नयाँ बनाइएको संरचनामा मात्रै आगो लगाइएको हो।’

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी भने आफूलाई आगलागीबारे पूर्ण जानकारी नभएको बताउछन्। गणेशप्रसादले भने, ‘निकुञ्ज विभागबाट जानकारी आएपछि मात्रै मैले घटनाबारे जानकारी दिन सक्छु।’ स्थानीय बासिन्दाले भने निकुञ्ज प्रशासनले नागरिकता समेत जलाइदिएको आरोप लगाएका छन्। उनीहरूले स्थानीय बासिन्दाको नागरिकता सहितको महत्वपूर्ण कागजात समेत निकाल्न नदिइ घरमा आगजनी गरेको आरोप लगाएका छन्। माडीका अगुवा स्थानीय श्रीप्रसाद दवाडीले स्थानीयले आकाश भुजेलको घर र नागरिकता समेत जलाइदिएको आफूलाई जानकारी आएको बताए।

माडी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष तथा माडी नगरपालिकाका प्रवक्ता शिवहरी सुवेदीले कुसुमखोलामा निकुञ्ज प्रशासनले आगो लगाएको भन्ने जानकारी आएको तर, आधिकारिक तथ्यांक भने नआएको जानकारी दिए। आज ढिलो जानकारी आएकोले भोलि गएर आधिकारिक जानकारी लिने बताए। माडी नगरपालिका वडा नम्बर ९ मा पर्ने कुसुमखोलामा यसअघि पनि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगजनी गरेको थियो। उक्त क्षेत्र निकुञ्ज भित्र पर्ने भन्दै २०७७ साल भदौ महिनामा स्थानीयलाई हटाउन निकुञ्ज प्रशासनले आगजनी गरेको थियो।

यसअघि माडी नगरपालिकाले कुसुमखोला लगायतका निकुञ्जको क्षेत्रका बासिन्दाहरु बाढी, जंगली जनावरको जोखिममा रहेको भन्दै दुई सय भन्दा बढी घरधुरी स्थानान्तरण गरेको थियो। त्यस क्षेत्रका सुकुम्बासीलाई माडीको ७, ८ र ९ नम्बर वडाका विभिन्न क्षेत्रमा राखिएको छ।

चितवनको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने माडी नगरपालिका चितवन राष्ट्रिय निकुञ्जको पूर्ण मध्यवर्ती क्षेत्रमा पर्दछ। उक्त क्षेत्रका निकुञ्ज छेउछाउ अव्यवस्थित बसोबास गर्ने सुकुम्बासीहरुको स्थायी बसोबासको विषयलाई लिएर राजनीतिक दलहरुबीच विवाद पनि हुँदै आएको छ। पछिल्लो समय सरकारले भूमीहीनहरुलाई बसोबास गरिरहेको स्थलको जमिनको निस्सा वितरण गरिरहेकोले बसोबास स्थानान्तरण गरिएकाहरू पनि पुनः कुसुमखोला फर्किएर घर निर्माण गरेको निकुञ्ज स्रोतको दाबी छ।

 

प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १७:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार