नागरिकताक लागि जनप्रतिनिधिको सहजीकरण

सोमबार, फागुन २४, २०७७

वाग्मती । मकवानपुरको विकट राक्सीराङ गाउँपालिकाका स्थानीयवासीलाई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्तिका लागि सहजीकरण गर्न त्यस क्षेत्रका जनप्रतिनिधिले संयुक्तरुपमा आइतबार जिल्ला प्रशासन कार्यालय पुगेका छन् । जनप्रतिनिधिको सहजीकरणमा राक्सीराङ गाउँपालिकाको धिराङ, दाम्राङ, गर्लिङ र जुरेथुमका ६० जनाले एकसाथ नागरिकता प्रमाणपत्र प्राप्त गरेका हुन् ।  खाजा, खाना र गाडीको समेत सेवा दिएर जनप्रतिनिधिले प्रशासन कार्यालयमा आएर एकैदिन ती सबैलाई नागरिकता दिलाएका छन् । त्यस क्षेत्रका प्रदेशसभा सदस्य सन्तबहादुर प्रजा, गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र विभिन्न वडाका वडाध्यक्षसहित जनप्रतिनिधिले जिल्ला प्रशासन कार्यालयमा स्वयं पुगेर नागरिकता प्रमाणपत्र दिलाउनमा आवश्यक सहयोग र सहजीकरण गरेका थिए । 
विकट गाउँबाट सदरमुकामसम्म आएर नागरिकता बनाउन एकैदिनमा काम सक्याउन नसक्ने अवस्था रहेकाले स्थानीयवासीको समस्यालाई मध्यनजर गर्दै आफूहरूले नै सहजीकरण गरेर गाउँवासीलाई नागरिकता दिलाइएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । 
नागरिकता बनाउन बाँकी रहेकाको तथ्याङ्क सङ्कलन गरी आवश्यक कागजातसमेत जुटाउन लगाएर जनप्रतिनिधिले गाउँवासीलाई प्रशासन कार्यालयसम्म ल्याएका थिए । प्रशासन परिसरमा बसेर वडाध्यक्षहरूले नागरिकताको सिफारिस दिएका थिए । गाउँका १६ वर्षदेखि ७१ वर्षसम्मकाले नागरिकता लिएका थिए । नागरिकता लिने र सनाखत गर्न आउने करिब १२० भन्दा बढी स्थानीयवासीलाई प्रदेशसभा सदस्य सन्तबहादुर प्रजाले खाजा र पानीको व्यवस्था गरेका थिए ।  विकट गाउँका नागरिकलाई नागरिकता बनाउन आउन यातायातको असुविधा, बाँस नै बस्नुपर्ने बाध्यता, आवश्यक कागजपत्रबारे अनभिज्ञतालगायत कारणले असहज भएपछि आफूहरूले सहजीकरण गरेको गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो । नागरिकता बनाउन छुटेका अन्य वडाका बासिन्दालाई पनि नागरिकता बनाउन यस्तै सहजीकरण जारी राख्ने उहाँको भनाइ छ । 

अध्यक्ष रोजगार कार्यक्रम’ घोषणा
मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाले अध्यक्ष रोजगार कार्यक्रम’ घोषणा गरेको छ । युवा जनशक्तिलाई रोजगारतर्फ उन्मुख गराउने उद्देश्यले ‘अध्यक्ष रोजगार कार्यक्रम’ घोषणा गरेका  हुने । 
यो कार्यक्रमअन्तर्गत युवायुवतीको मागअनुसार विभिन्न प्रकारका तालीम सञ्चालन गर्ने गाउँपालिकाको योजना छ । चालु आर्थिक वर्ष ०७७÷०७८ भित्र ड्राइभिङ तालीम, होमस्टे तालीम, सौन्दर्य तालीम, इलेक्ट्रिसियन तालीम, कम्प्युटर तालीम सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।  जसअन्तर्गत ड्राइभिङ तालीम, होमस्टे तालीम र सेक्युरियटी गार्डको तालीम यसअगावै सञ्चालन भइसकेका छन् भने एक महिने कम्प्युटर तालीम हाल जारी छ ।  यसैगरी सौन्दर्य र इलेक्ट्रिसियन तालीम सञ्चालनको क्रममा रहेको गाउँपालिकाले जनाएको छ ।–रासस 
 

प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  १२:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार