पहिलो पटक मानिसको रगतमा भेटियो माइक्रोप्लास्टिक्स

वैज्ञानिकहरू किन चिन्तित ?
आइतबार, चैत १३, २०७८

वैज्ञानिकहरूले परीक्षण गरेका १० मध्ये ८ जनाको रगतमा माइक्रोप्लास्टिकका कण फेला पारेका छन् ।तीमध्ये आधाजसो रगतमा त प्लास्टिकको बोतलमा प्रयोग हुने पीईटी (पोलिथिलीन टेरेफ्थालेट) प्लाष्टिक पाइएको छ।

 

मानव रगतमा पहिलो पटक माइक्रोप्लास्टिकको उपस्थितिको प्रमाण वैज्ञानिकहरूले फेला पारेका हुन्। वैज्ञानिकहरूले यसलाई आश्चर्यजनक मानेका छन्। यसबाट विश्वमा प्लास्टिक प्रदुषणमुक्त कुनै ठाउँ छैन भन्ने कुरा प्रष्ट भएको छ । यसअघि समुन्द्र गहिराईदेखि हिमालको उचाईसम्म प्लास्टिक प्रदुषणको अस्तित्वको प्रमाण भेटिएको थियो। अहिलेचाहिँ मान्छेको रगतमा नै प्लास्टिक प्रदुषणको उपस्थिति भेटिनु ठूलो चिन्ताको विषय हो।

यस सम्बन्धी अनुसन्धान इन्भाइरोमेन्ट इन्टरनेशनल जर्नलमा प्रकाशित छ । वैज्ञानिकहरूले गरेको परीक्षणमा करिब ७७ प्रतिशत मानिसको रगतमा माइक्रोप्लास्टिकका टुक्राहरू भेटिएका हो। रगतमा तिनीहरूको उपस्थितिले अर्थ के हो भने यी माइक्रोप्लास्टिक कणहरू शरीरको एक ठाउँबाट अर्को ठाउँमा जान सक्छ र शरीरका कुनै पनि अंगमा पुगेर जम्मा हुन सक्छ।

आफ्नो अनुसन्धानका क्रममा वैज्ञानिकहरूले नेदरल्यान्ड्सका २२ जना मानिशको रगतको नमूनाहरूको विश्लेषण गरेका हुन। यी सबै मानिस वयस्क र स्वस्थ थिए। अनुसन्धानमा ती मध्ये १७ जनाको रगतमा माइक्रोप्लास्टिक कण भेटिएको थियो । यी नमूनाहरू मध्ये आधामा पीईटी प्लास्टिक (पोलिथिलीन टेरेफ्थालेट) पाइयो, जुन सामान्यतया पेय पदार्थको बोतल र कपडा बनाउन प्रयोग गरिन्छ।

यसैगरी, करिब एक तिहाइ (36%) नमूनाहरूमा पोलिस्टाइरिन पाइयो, जुन खाद्य वस्तु र अन्य उत्पादनहरूको प्याकेजिङमा प्रयोग गरिन्छ। जबकि करिब एक चौथाई (२३ प्रतिशत) नमूनामा पोलिथीन भेटियो । तर, यसले स्वास्थ्यमा कसरी असर गर्छ भन्नेबारे भने खुलाइएको छैन ।

के हो माइक्रोप्लास्टिक ?

प्लास्टिकका ठूला टुक्राहरू ससाना कणहरूमा विभाजित भएपछि  तिनीहरूलाई माइक्रोप्लास्टिक भनिन्छ। कपडा र अन्य वस्तुहरूको माइक्रोफाइबरहरू टुट्दा माइक्रोप्लास्टिकहरू बन्छन्। सामान्यतया १ माइक्रोमिटरदेखि ५ मिलिमिटर साइजको प्लास्टिकका टुक्राहरूलाई माइक्रोप्लास्टिक भनिन्छ।

सिन्थेटिक प्लास्टिक ‘बेकेलाइट’ को उत्पादन पहिलो पटक सन् १९०७  मा भएको थियो । यसलाई नै प्लास्टिक उद्योगको प्रारम्भ मानिन्छ। सन् १९५० देखि हालसम्म ८३०० मिलियन टनभन्दा बढी प्लास्टिक उत्पादन भइसकेको छ । यो सन् २०२५ सम्म दोब्बर हुने अनुमान गरिएको छ ।सन् २०१५ मा प्लास्टिकको वार्षिक उत्पादन लगभग ३५०  मिलियन टन थियो, जुन १९५० को तुलनामा २००  गुणा बढी हो । प्लास्टिक टुट्न र सड्न धेरै समय लाग्ने भएकाले यसको ठूलो भाग वातावरणमा लामो समयसम्म रहन्छ ।

स्वास्थ्यका लागि कति हानिकारक छ माइक्रोप्लास्टिक ?

यसअघि पनि मानव शरीरमा माइक्रोप्लास्टिकको प्रमाण भेटिएको छ । जर्नल इनभाइरोन्मेन्ट इन्टरनेशनलमा प्रकाशित अर्को अध्ययनले गर्भमा रहेका बच्चाहरूको प्लेसेन्टा (गर्भनाल) मा समेत माइक्रोप्लास्टिक्स फेला पारेको छ ।

यी माइक्रोप्लास्टिक कणहरूले भ्रूणको विकासलाई असर गर्न सक्छ भन्ने शोधकर्ताहरूको विश्वास छ । यसले बच्चाहरूको रोग प्रतिरोधक प्रणाली वा इम्यून सिस्टमलाई पनि असर गर्न सक्छ, जसले भविष्यमा रोगहरूसँग लड्ने उनीहरूको क्षमतालाई असर गर्न सक्छ ।

त्यसैगरी फ्लोरिडा स्टेट युनिभर्सिटीले गरेको अर्को अध्ययनले शरीरमा प्रवेश गर्ने माइक्रोप्लास्टिक्सले कोशिकाको काममा असर पार्न सक्ने देखाएको छ। वैज्ञानिकहरूका अनुसार माइक्रोप्लास्टिक एकपटक श्वासप्रश्वास वा अन्य कुनै पनि माध्यमबाट शरीरमा पुगेपछि यसले फोक्सोका कोशिकाहरूको मेटाबोलिज्म तथा वृद्धिमा असर पार्ने र केही दिनमै तिनको वृद्धिलाई सुस्त बनाउन सक्छ । यति मात्र होइन, यसले कोशिकाको आकारलाई पनि असर गर्न सक्छ ।

यसैबीच, जर्नल अफ हाजार्डस मटेरियल लेटर्समा प्रकाशित अनुसन्धानले हामीले हरेक दिनजसो प्रयोग गर्ने टूथपेस्ट, क्रिमलगायतका बस्तुदेखि हाम्रो खाना, हावा र पिउने पानीमा आदिमा हुने माइक्रोप्लास्टिक कणले ब्याक्टेरियामा एन्टिबायोटिक प्रतिरोधी क्षमता ३० गुणासम्म बढाउन सक्ने देखाएको छ ।

विश्वभर जसरी प्लास्टिकको उत्पादन र प्रयोग बढ्दै गएको छ, त्यसले वातावरणका लागि ठूलो समस्या निम्त्याइरहेको छ । मानव शरीरभीत्र नै प्लास्टिक भेटिएका नयाँ प्रमाणहरू फेला पारिनुले ठूलो खतरातिर औंल्याएको छ। त्यसैले यो प्लास्टिकको समस्यालाई सम्बोधन गर्न तत्काल पहल गर्न जरुरी छ ।

यसैगरी थर्डपोलका अनुसार, प्लास्टिक प्रदूषण अन्त्य गर्ने सम्बन्धमा कानुनीरुपमै बाध्यकारी पहिलो विश्वव्यापी सन्धिका लागि मापदण्डहरू तय गरिएको छ । केन्याको राजधानी नैरोबीमा केही दिनपहिले भएको राष्ट्रसंघीय वातावरण सभा (यूएनईए) मा समुद्रमा मात्र नभई समग्र वातावरणमै प्लास्टिक फोहोरको समस्या समाधान गर्ने विषय समेत समेटिएको छ।१ सय ७५ सदस्य राष्ट्रबाट आएका प्रतिनिधिहरू वातावरणसम्बन्धी थुप्रै बहुपक्षीय सम्झौतामा वार्ता गर्नका लागि त्यहाँ भेला भएका थिए। ‍तीमध्ये सबैभन्दा महत्त्वपूर्णचाहिँ प्लास्टिकसम्बन्धी विषय थियो ।

“यसको आधारभूत कुरा के हो भने हामीले आफ्नो वातावरणबाट प्लास्टिक प्रदूषण उन्मूलन नै गर्नेछौँ,” राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) की कार्यकारी निर्देशक इन्गर एन्डर्सनले सो सभाको अन्तिम सत्रमा भनेकी थिइन् ।

यो साँच्चिकै महत्त्वपूर्ण कदम हो । मैले प्लास्टिकको मुद्दामा काम गर्न सुरु गर्दा यो समस्याको व्यापकताबारे बृहत् सहमति थिएन, यो समस्या छ भन्नेमा समेत सहमति हुँदैनथ्यो”, युनिभर्सिटी अफ प्लाइमाउथका जल वैज्ञानिक रिचार्ड थम्पसनले भने । विगत ३० वर्षदेखि प्लास्टिक प्रदूषणबारे अध्ययन गरिरहेका थम्पसनले नै “माइक्रोप्लास्टिक” भन्ने शब्दलाई प्रयोगमा ल्याएका थिए।

विगत २० वर्षमा प्लाष्टिक उत्पादन २३ करोड ४० लाख टनबाट वृद्धि भई दोब्बर अर्थात् ४६ करोड पुगेको छ । त्यसैले अब देशहरूले स्वैच्छिक कदम चालेर वा उनीहरूका राष्ट्रिय कार्यक्रम कार्यान्वयन गरेर मात्र यो समस्या समाधान गर्न सम्भव छैन भन्ने स्वीकार्न थालिएको छ । पछिल्ला केही वर्षदेखि वैज्ञानिकहरूको घोषणापत्र र लोकप्रिय विचारहरूका आधारमा विश्वव्यापीरुपमा समन्वयकारी पहल गर्न जोड दिन थालिएको छ । विश्व वन्यजन्तु संरक्षण कोष (डब्लूडब्लूएफ) ले गत महिना एक सर्वेक्षणको नतिजा प्रकाशित गरेको थियो । २८ देशमा गरिएको सो सर्वेक्षणका क्रममा सोधिएका १० मध्ये ९ जना नागरिकले प्लास्टिक प्रदूषणसम्बन्धी एक विश्वव्यापी सम्झौता गर्न आवश्यक रहेको बताएका थिए । त्यसमध्ये पनि मेक्सिको, पेरु र चीनमा सबैभन्दा ठूलो समर्थन थियो । प्लास्टिक उत्पादनकर्ता र प्लास्टिक प्याकेजिङमा अत्यधिकरुपमा निर्भर रहने कोकाकोला, नेस्ले र युनिलिभरजस्ता बहुराष्ट्रिय ब्रान्डहरूले समेत यो अवधारणाप्रति समर्थन जनाइरहेका छन् ।

दुईवटा प्रस्तावमाथिको बहस तातिरहेकै बेला (गत फेब्रुअरीको अन्तमा) विश्वव्यापी सम्झौताका लागि बढ्दो समर्थन पनि निर्णायक विन्दुमा आएको थियो । प्लास्टिक प्रदूषणलाई कसरी समाधान गर्ने भन्नेबारे रुवान्डा र पेरुले एउटा प्रस्ताव अघि सारेका थिए भने जापानले अर्को प्रस्ताव ल्याएको थियो । केही दिनसम्मको बहसपछि २८ फेब्रुअरीका दिन भएको राष्ट्रसंघीय वातावरण सभा (यूएनईए) मा संसारभरबाट जम्मा भएका वातावरण मन्त्रीले सहमतिका लागि एउटा मस्यौदा प्रस्तुत गरे ।

महत्त्वाकांक्षीअपरिहार्य र बृहत्

त्यस प्रतिबद्धतामा समेटिएका विषयवस्तुलाई पेरिस सम्झौतापछिको  “सबैभन्दा महत्त्वपूर्ण” मानिएको छ । सन्धिलाई अन्तिम रूप दिइएपछि त्यसले कानुनी मान्यता पाउनुपर्नेमा जोड दिइएको छ । वार्ताको सुरुको चरणमा यो कुरा थिएन। प्लास्टिक प्रदूषणलाई न्यूनीकरण होइन “अन्त्य” नै गर्नुपर्ने भनेको सो प्रतिबद्धताले सन् २०२४ सम्ममा सन्धिलाई अन्तिम रुप दिनुपर्ने महत्त्वाकांक्षी समयसीमा तोकेको छ ।

“सबै मुलुकहरू एक ठाउँमा उभिएर भनेका छन् कि ‘यो समस्याको अपरिहार्यतालाई आत्मसात् गर्दै हामी तत्काल केही गरिहाल्न चाहन्छौँ”, इन्भायरनमेन्टल इन्भेस्टिगेसन एजेन्सी (ईआईए) नामक एनजीओकी डेपुटी क्याम्पियन लिड क्रिस्टिना डिक्सनले भनिन् । सो सभामा भएका वार्ताहरूमा उनी एक पर्यवेक्षकको रुपमा सहभागी थिइन् ।

सो प्रतिबद्धताले राखेको महत्त्वाकांक्षी योजना देखेर नागरिक समाजका समूहहरूले उत्सव नै मनाइरहेका छन् । किनभने वार्ताकारहरूले यसपटक अरु बेलाजस्तो हल्का सन्धि गरेका छैनन् । यसले प्लास्टिक प्रदूषणलाई सबै पारिस्थितिक प्रणाली (इकोसिस्टम) मा सम्पूर्णरुपमा अन्त्य गर्ने गरी वार्ता केन्द्रित गर्न जोड दिएको छ । अहिलेसम्मका प्रायः सबै नीतिगत प्रयास जलजन्य वातावरणमा केन्द्रित छन् किनभने त्यसमा ठूलो स्तरमा प्रभाव परिरहेको छ । नदीले बगाउने प्लास्टिक समुद्री प्रदूषणको एक मुख्य स्रोत भएका कारण पनि यो प्रावधान महत्त्वपूर्ण छ । यो समस्या मुख्यतः एसियामा छ।-स्वतन्त्र समाचार

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  ११:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार