सोसल मिडिया
Contact Us
युनिकोड
जेरूसेलम । इजरायलले कोरोना महामारीका कारण बन्द रेष्टुरेन्ट तथा बारहरूलाई आइतबारदेखि खोल्न अनमति दिएको छ । सरकारले रेष्टुरेन्ट, क्याफे तथा बारहरूमा काम गर्ने खोप लगाइसकेका व्यवसायी तथा तीनका कर्मचारीलाई सेवालाई पुनः सञ्चालनमा ल्याउन अनुमति दिइएको हो । इजरायलमा गत वर्षका डिसेम्बरदेखि खोप अभियान सञ्चालनमा ल्याइएको थियो । आइतबारसम्म करिब ४० प्रतिशत नागरिकले कोभिड–१९ विरूद्धको खोपको दुबै मात्रा लिइसकेका छन् । करिब ९० लाख जनसङ्ख्या रहेको इजरायलमा फाइजर र बायोएनटेकद्वारा उत्पादित खोपको दुबै मात्रा लगाउनेको सङ्ख्या ३७ लाख पुगिसकेको छ । इजरायलमा कम्तीमा ५० लाख नागरिकले कोभिड–१९ विरूद्धको पहिलो मात्रा लगाइसकेका छन् । सरकारले बन्द अवस्थामा रहेका व्यवसायलाई खोल्ने नीति अन्तर्गत क्रमशः सबै क्षेत्रलाई महामारी पहिलेको अवस्थामा फर्काउन लागिएको प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताए । ‘हामीले करिब ४० प्रतिशत नागरिकलाई खोप दिइसकेका छौँ । अब हामी सामान्य अवस्थामा फर्किनका लागि समस्या नहुने विज्ञहरूको सुझाबपछि बन्द रहेका व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन समस्या हुने छैन’ उनले भने । रेष्टुरेन्ट तथा बार खोलेको सन्देश दिन प्रधानमन्त्रीद्वारा एक क्याफेमा केक काटिएको र यसलाई त्यहाँ भेला भएका व्यक्तिहरूले खाएको इजरायली टेलिभिजनहरूले प्रमुख समाचार बनाएर प्रशारण गरेका थिए । इजरायलले यसअघि नै जिम, पुल तथा अन्य सेवाहरूलाई पनि सञ्चालनमा ल्याइसकेको छ ।–एएफपी