विद्यालय, खानेपानी र सडकका संरचना बनाउँदै बेरोजगार

शनिबार, चैत ५, २०७८

बलेवा, ५ चैत ।  बागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभानकी सुशीला कामी दिनभर गाउँपालिकाले खटाएको ठाउँमा काम गर्नुहुन्छ । न्यून आय भएको परिवार धान्न धौधौ भएकी सुशीलाले काम पाएपछि अहिले परिवार पाल्न सजिलो भएको छ । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँमै काम पाउनुभएको छ ।

    दिनभरि काम गरेपछि साँझ उनले नेपाल सरकारले तोकेको पारिश्रमिक पाउछन्  । महिनामा एकैपटक आउने भए पनि सुशीलाले दिनदिनै गर्ने कमाइका आधारमा खर्च गर्न र उधारो चलाउन सहज भएको छ । कहिले विद्यालयको खेल मैदान निर्माण त कहिले गोरेटो बाटो निर्माणका काममा खटिने सुशीला र उनका साथी पहिराले क्षति पु¥याएका सरकारी संरचनामा फलामे तारजाली लगाउने, खानेपानीको पाइपका लागि लाइन खन्ने काम पनि गर्छन्  ।

    एकतर्फ सामाजिक काम गर्न पाएकामा उनीहरु दङ्ग छन्  भने अर्कोतर्फ गाउँमा ज्याला मजदुरी गर्दाभन्दा धेरै पारिश्रमिक पाउछन्  । तमानखोला गाउँपालिकाले विद्यालयमा खेलमैदान, पर्खाल लगाउने, गोरेटोबाटो बनाउने, खानेपानीका संरचना बनाउने र चौतारी, पोखरीको संरक्षणलगायत काममा प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागीलाई लगाउने गरेको छ ।

    तमानखोला–२ कटेरी गाउँमा रहेको जनज्योति आधारभूत विद्यालयको खेलमैदान बनिरहेको छ । खेलमैदान निर्माणका लागि विद्यालयले जग्गा मात्रै देखाइदिएको हो । बाँकी काम प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागीले गरिरहेका छन् । यो त एउटा उदाहरण मात्रै हो । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट यस्तै कैयौँ काम गरेको छ ।

“हामीले मजदुर आवश्यक हुने ठाउँमा रोजगार कार्यक्रममा सहभागीलाई लगाउने गरेका छौँ”, गाउँपालिकाका रोजगार संयोजक चेतलाल चालिसेले भने 
, “रोजगारीमा सहभागी निकै खुसीका साथ काम गरिरहेका छन् ।” 

    सो गाउँपालिकामा ६६८ बेरोजगारको सूचीमा सूचीकृत छन् । त्यसमध्ये ४०० जनाले यस वर्ष पनि काम गरिरहेका छन् । असी बेरोजगारलाई १०० दिनका दरले काम लगाउने गरी नेपाल सरकारले दिएको शःसर्त अनुदानमा गाउँपालिकाले ४०० जनालाई काम लगाइरहेको चालिसेले बताए  । 

    “बेरोजगारको सूचीमा रहेकामध्ये अधिकांशको अवस्था उस्तै छ, सरकारले बनाएको मापदण्डमा ४०० जना नै पर्छन्”, उनले भने “सबैलाई सहभागी बनाउँदा ६०÷७० दिनका दरले काम पाउँछन्, छ महिना खान नपुग्ने सबैलाई काम पाउँदा घर चलाउन सहज हुन्छ ।” 
    
    कार्यक्रममा सहभागीले दिनको रु ५७७ का दरले पारिश्रमिक पाउँछन् । यो पारिश्रमिक तमानका गाउँमा ज्याला मजदूरी गर्दा पाउने पारिश्रमिकभन्दा धेरै हो । जिल्लामा कायम भएको दर रु ८०५ छ तर प्रधानमन्त्री रोजगार कार्यक्रमले तय गरेको दररेटअनुसार पारिश्रमिक दिने गरिएको उनले बताए  । 

    “गाउँमा महिला र पुरुषमा पारिश्रमिक फरकफरक छ तर कार्यक्रममा सबैको समान पारिश्रमिक हुन्छ”, चालिसेले भने , “समान कामका लागि समान ज्याला कायम गराउन कार्यक्रम प्रभावकारी बन्दैछ ।” गाउँपालिकामा तीनै तहको सरकारको नजर नपुग्ने क्षेत्रमा रोजगार कार्यक्रमले सहयोग गरेको छ ।   

प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  १२:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार