मेलम्चीको पानी बागमतीमा

प्रधानमन्त्री भन्छन्, ‘उपत्यकावासीको सपना पूरा भयो’
शनिबार, फागुन २२, २०७७

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट ल्याइएको मेलम्चीको पानी २६.५ किमी सुरुङबाट परीक्षण भएर काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा झरेको छ ।  उपत्यकावासीको प्यास मेटाउन बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको पानी सुन्दरीजलमा आएपछि आज प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच दबाएर परीक्षण गरिएको पानी बागमतीमा झारेका छन् ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपत्यकावासीको लामो सपना पूरा भएको बताए ।  ‘मेलम्चीको पानी सुन्दरीजलबाट बागमतीमा झारेका छौँ, कोशीमा बग्ने पानी अब बागमतीमा आएको छ, प्रदेश नं १ मा जाने पानी बागमतीबाट प्रदेश नं २ हुँदै गएको छ, पानी दिने सिन्धुपाल्चोकको हेलम्बु एवं मेलम्ची क्षेत्रवासीलाई धन्यवाद दिन्छु, नेपालमा प्रविधिका माध्यमबाट ठूलो आयोजना सम्पन्न भएको छ’, उनले भने । विकास निर्माणमा एकपछि अर्काे सफलता प्राप्त भएको प्रधानमन्त्री ओलीले बताए । आफ्नै पार्टीभित्रकाले काम गर्न नदिए पनि फागुन १० गतेदेखि २२ गतेसम्म ठूला आयोजना उद्घाटन वा शिलान्यासका काम भइरहेको उनले सुनाए । दोस्रो चरणमा याङग्री र लार्केको पानीसमेत ल्याएर उपत्यकामा खानेपानीको समस्या समाधान गरिने प्रधानमन्त्री ओलीले प्रतिबद्धता व्यक्त गरे ।  अहिलेको परीक्षणका क्रममा २६० लिटर मात्र हालिएकामा फागुन २६ गते पानीको मात्रा बढाएर महाशिवरात्रिमा स्नानका लागि वाग्मतीमा स्वच्छ पानी बगाउने योजना पनि उनले सुनाए । ‘पार्टीकै मानिस प्रत्यक्ष ११६ सिट जितेको आफ्नो नेतालाई हटाएर २३ सिट जितेको नेपाली कांग्रेसकामा निवेदन हाल्न गएका छन’, समसामयिक विषयमा राजनीतिक टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले भने । खानेपानी मन्त्री मणिचन्द्र थापाले नेपाली जनताको खानेपानीको सपना २२ वर्षपछि राजधानीमा मेलम्चीको पानी आएर पूरा भएको बताए । ‘२२ वर्षका बीचमा व्यवस्था एवं सरकार परिवर्तन भएपनि मेलम्चीको सपना पूरा भएको छ, कृष्णप्रसाद भट्टराईको पालामा शुरु भएको मेलम्ची आयोजना केपी शर्मा ओलीको पालामा सम्पन्न भएको छ, सुरुङमा पानी हालेर सफल परीक्षण भएको छ, चैत दोस्रो साता उपत्यकावासीका लागि मेलम्चीको पानी धाराबाट वितरण गरिन्छ’ उनले भने । 
मेलम्ची आयोजना सम्पन्न गर्न लाग्ने सबै पक्षलाई मन्त्री थापाले धन्यवादसमेत दिए ।  मन्त्रालयका सचिव माधव बेल्वासेले मेलम्चीको पानी कोशी जलाधारबाट वाग्मती जलाधारमा आउनु ठूलो उपलब्धि भएको बताए । फागुन १० गते सिन्धुपाल्चोकको हेलम्बुबाट सुरुङमा हालेको मेलम्चीको पानी १२ दिनपछि आज सुन्दरीजलमा आइपुगेको उनले जानकारी दिए । मेलम्चीको पानी प्रशोधनका लागि सुन्दरीजलमा साँढे आठ करोड लिटर क्षमताका दुई प्रशोधन केन्द्र निर्माण सम्पन्न भएको छ । प्रशोधित पानी सुन्दरीजलबाट लगेर उपत्यकाका नौ स्थानमा निर्माण भएका पानीपोखरीमा हाली त्यहाँबाट वितरण गरिन्छ । अर्काे एक पानीपोखरी निर्माणाधिन छ । पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी उपत्यकामा आउनेछ । दोस्रो चरणको याङ्ग्री र लार्केको विस्तृत परियोजना प्रस्ताव तयार भइसकेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।  दोस्रो चरणका दुई खोलबाट थप ३४ करोड लिटर गरी दैनिक ५१ करोड लिटर पानी सुरुङमार्गबाट राजधानी ल्याई वितरण गरिने योजना छ ।–रासस
 

प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  २०:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार