सोसल मिडिया
Contact Us
युनिकोड
बेइजिङ । कोभिड–१९ विरुद्ध चीनले विकसित गरेको एउटा खोपले त्यहाँ मध्य–चरणका परीक्षणहरूमा सफलताको सङ्केत दिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । चीनमा हाल विभिन्न खोपहरू तयार गरिँदैछ । तीमध्ये केही त मानिसहरूलाई लगाइ पनि सकिएको छ । अनुसन्धानकर्ताहरूका अनुसार सिनोभ्याक बायोटेक नामक समूहले तयार पार्दै गरेको खोपले ७०० जना मानिसमा गरिएको परीक्षणका बेला तिनमा तीव्र रोग प्रतिरोधी प्रतिक्रिया उत्पन्न हुन सकेको थियो । युरोपेली र अमेरिकी खोपहरूको ठूलो स्तरको परीक्षणबाट प्राप्त तथ्याङ्कहरूले ती खोपहरू सफल रहेको भन्ने देखाएको विवरणहरू आइरहँदा यो पछिल्लो घोषणा आएको छ । अमेरिका, जर्मनी र रुसमा विकास गरिएको तीनवटा खोपहरूको परीक्षणका तथ्याङ्कहरू सार्वजनिक भएका छन् र दशौँ हजारमा गरिएको परीक्षणमा ती खोप ९० प्रतिशत भन्दा बढी नै प्रभावकारी देखिएको बताइएको छ ।
चिनियाँ खोपका बारेमा के थाहा छ ? बाँकी विश्वले जस्तै चीनले पनि कोभिडविरुद्धको खोप बनाउन जोडतोडले प्रयास गरिरहेको छ । यसैक्रममा चारवटा खोप चिकित्सकीय परीक्षणको अन्तिम चरणहरूमा प्रवेश गरेका छन् जसमा सीनोभ्याक बायोटेकको खोप पनि पर्दछ । तर वैज्ञानिक जर्नल द ल्यान्सेटमा प्रकाशित परिणामहरू ती चारमध्ये एकको पहिलो र दोस्रो चरणका परीक्षणबाट प्राप्त तथ्याङ्कहरूमात्र हुन् । उक्त प्रतिवेदन अनुसार सिनोभ्याक बायोटेकको कोरोनाभ्याक नाम दिइएको खोपले मानव शरिरमा तीव्र रोग प्रतिरोधी प्रतिक्रिया जनाउन सकेको थियो । तर गत एप्रिल र मे महिनामा गरिएको अध्ययनले उक्त खोपको सफलताको दरको कुनै प्रतिशत प्रस्तुत गरिएको छैन । उक्त प्रतिवेदनका एक लेखक झु फेङगचाइले भनेका छन् पहिलो चरणमा १४४ र दोस्रो चरणमा ६०० जनामा गरिएको परीक्षणमा आधारित ती नतिजाहरूको अर्थ उक्त खोप ‘आपत्कालीन अवस्थामा प्रयोग गर्न योग्य’ रहेको मान्न सकिन्छ । हाल जारी ठूलो स्तरको तेस्रो चरणको परीक्षणका तथ्याङ्कहरू सार्वजनिक गरिएको छैन ।
ठूलो स्तरको परीक्षण चीनमा महामारी केही हदसम्म नियन्त्रणमा आएको बताइरहँदा ती चार चिनियाँ खोपहरूको ठूलो स्तरको परीक्षण पाकिस्तान साउदी अरेबिया, रुस, इन्डोनेशिया र ब्रजिलमा भैरहेको छ । अधिकारीहरुका अनुसार नोभेम्बर महिनाको आरम्भतिर झण्डै ६०,००० जनाले एउटा खोप लगाइसकेका छन् । गत हप्ता ब्रजिलमा सिनोभ्याक बायोटेक खोपको परीक्षण केही समयका लागि रोकिएको थियो तर परीक्षणमा संलग्न एकजना स्वयंसेवीको मृत्युको सम्बन्ध खोपसँग रहेको नदेखिएपछि परीक्षण पुनः सञ्चालन गरिएको छ । कम्तीमा तीनवटा खोप एउटा आपत्कालीन योजना अनुसार अत्यावश्यक सेवाका कर्मचारीहरूलाई दिइसकिएको छ भने एउटा चाहिँ गत जुन महिनामा नै चिनियाँ सेनाका लागि प्रयोग गर्न अनुमति दिइएको थियो ।
एक दर्जन खोप अन्तिम चरणमा अमेरिकी कम्पनी मोडर्नाले विकास गरेको कोभिड–१९ विरुद्धको खोप करिब ९५ प्रतिशत प्रभावकारी देखिएको छ । मोडर्नाले क्लिनिकल परीक्षणमा सहभागी भएकाहरूको नतिजा विश्लेषण गर्दा उक्त खोप ९४.५ प्रतिशत प्रभावकारी देखिएको जनाएको हो । फाइजर र बायोएनटेकले निर्माण गरेको खोपले कोभिडका ९० प्रतिशत बिरामी निको पारेको दाबी गरिएको केही दिनमा मोडर्नाले यो घोषणा गरेको हो । मोडर्नाले ‘महान’ दिन भन्दै खोप प्रयोगका लागि अनुमति लिन केही दिनमै आवेदन दिने बताएको छ । कम्पनीका अनुसार यो खोपको परीक्षणमा ३० हजार अमेरिकी सहभागी भएका थिए । सहभागीमध्ये आधालाई दुई पटक खोप लगाइएको थियो । तर खोप एक पटक लगाएपछि कति समयसम्म काम गर्छ भन्नेबारे केही उल्लेख गरिएको छैन । ‘तेस्रो चरणको परीक्षणको सकारात्मक नतिजाको विश्लेषण गर्दा यो खोपले कोभिड–१९ का बिरामीलाई निको पार्ने देखिएको छ’, मोडर्नाका प्रमुख कार्यकारी अधिकृत स्टेफान बान्सेलले एक विज्ञप्तिमार्फत जनाएका छन् । मोडर्ना र फाइजर दुवै कम्पनीले निर्माण गरेका खोप एमआरएनए प्रविधिमा आधारित हुन् । एमआरएन शरीरका कोषहरूका लागि एउटा सफ्टवेयरजस्तै हो । यो प्रविधिमा निर्मित खोपले कोषहरूले निर्माण गरेको प्रोटिनलाई शरीरका विभिन्न भागमा पढाउन निर्देशन दिने गर्छ । जसका कारण मानिसको शरीरमा भाइरसविरुद्ध एन्टिबडी निर्माणका लागि रोग प्रतिरोधात्मक क्षमता बढ्दै जान्छ । तर मोडर्नाको खोप भण्डारणका लागि भने सहज देखिएको छ । बान्सेलका अनुसार यो खोप माइनस २० डिग्री सेल्सियस तापक्रममा सुरक्षित रहन्छ । यसअघि फाइजरले विकसित गरेको खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने जनाइएको थियो । कोभिड–१९ विरुद्धको खोप विकास र यससम्बन्धी अनुसन्धानका लागि मोडर्नालाई अमेरिकी सरकारले १ अर्ब डलर प्रदान गरेको छ । कम्पनीले डेढ अर्ब डलरबराबरको १० करोड डोज खोप उपलब्ध गराउन यसअघि नै सम्झौतासमेत गरिसकेको छ । मोडर्नाले आगामी वर्षभित्र विश्वभर १ अर्ब डोज खोप उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ । त्यसका लागि क्रमशः अन्य मुलुकहरूबाट समेत आवश्यक स्वीकृति लिइने बान्सेलको भनाइ छ । यी खोपसँगै विश्वका विभिन्न देशमा विकसित करिब एक दर्जन खोपको परीक्षण अन्तिम चरणमा छ । यसअघि बहुराष्ट्रिय कम्पनीले आफूले बनाइरहेको खोप ९० प्रतिशत प्रभावकारी भएको दाबी गरेको थियो । त्यस्तै रुसले पनि आफूले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप स्पुतनिक–५ खोप ९२ प्रतिशत प्रभावकारी भएको दाबी गरेको थियो । रुसको सार्वभौम वेल्थ फन्डले अन्तरिम परीक्षणमा खोपको प्रभावकारिता ९२ प्रतिशत देखिएको बताएको हो । त्यस्तै चिनियाँ सरकारद्वारा सञ्चालित सिनोफार्म कम्पनीले विकास गरिरहेको कोरोना खोप बीबीआईबीपी–कोरभीको पहिलो र दोस्रो चरणको परीक्षण सफल भएको बताइएको छ । उक्त रिपोर्टका अनुसार पहिलो र दोस्रो चरणको परीक्षणमा सहभागी व्यक्तिलाई गम्भीर प्रकृतिको कुनै नकारात्मक प्रतिक्रिया नदेखिएको र शरीरमा एन्टीबडी पनि विकास भएको बताइएको छ । उक्त खोप पनि तेस्रो चरणको परीक्षणमा रहेको छ । त्यसै गरी बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाले विकास गरिरहेका कोरोना भाइरसविरुद्धको खोप पनि तेस्रो चरणअन्तर्गतको परीक्षणमा रहेको बताइएको छ ।
जोन्सनको खोपको तेस्रो चरणको परीक्षण कोभिड–१९ विरुद्ध निर्माण गरेको खोप तेस्रो चरणको परीक्षणका लागि फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनले अनुमित पाएको छ । करिब १२ महिना चल्ने परीक्षणका लागि कम्पनीले बेलायत सरकारले अनुमति दिएको हो । परीक्षणमा करिब ६ हजार जना सहभागी हुने जनाइएको छ । खोप निर्माणको नेतृत्व गरिरहेका डा. साउल फाउस्टले खोप अन्तिम परीक्षण पहिलो पटक बेलायतमा गर्न लागिएको बताए । उनले खोप परीक्षणमा विश्वका ६ देशका करिब ३० हजार जना सहभागी हुने जनाए ।
‘खोप मात्र पर्याप्त छैन’ विश्व स्वास्थ्य संगठनका प्रमुखले कोभिड–१९ को महामारी अन्त्यका लागि खोप विकास र प्रयोगले मात्रै काम नगर्ने बताएका छन् । संगठनका महानिर्देशक टेड्रोस अड्हानोम गेहब्रेयससले भने, ‘महामारी नियन्त्रणका लागि हामीसँग रहेका उपायमध्ये खोप एक हो । खोप आफैंले मात्र महामारीलाई अन्त्य गर्न सक्दैन ।’ खोपको प्रयोगले मृत्युदर नियन्त्रणमा आउने र स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउने उनको भनाइ छ । अनुगमन र परीक्षणको दायरा बढाउँदै बिरामीलाई समुदायको सम्पर्कबाट टाढा राख्नु नै महामारी नियन्त्रणको प्रमुख उपाय रहेको उनको दाबी छ । त्यसका साथै हरेक व्यक्तिले सावधानी अपनाउनु अनिवार्य रहेको टेड्रोसले बताए । टेड्रोसले खोपको आपूर्ति सुरुमा नियन्त्रित रूपमा वितरण हुने र यसको प्राथमिकतामा स्वास्थ्यकर्मी, बढी उमेरका र जोखिममा रहेका व्यक्तिहरूलाई दिइनुपर्ने बताए ।–बीबीसी