सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । तेजाब आक्रमणमा परेकी मुस्कान खातुनलाई अमेरिकी सरकारले पुरस्कार दिने घोषणा गरेको छ । अमेरिकी सरकारले प्रतिष्ठित पुरस्कार अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) अवार्ड दिन लागेको हो । पुरस्कार पाउँदा आफूलाई थप जिम्मेवारी महसुस भएको र अबका दिनमा यो क्षेत्रमा काम गर्न थप हौसला मिलेको बताएकी छन् । अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) अवार्ड पाउने खातुन अहिलेसम्मकै कान्छीमध्ये एक हुन् । नेपालबाट पहिलो महिला हुन् । ‘यो पुरस्कार मैले पाएँ भनेर मैले आज बिहानै दूतावासबाट फोन आएपछि थाहा पाएँ, एकदमै खुसी लागेको छ । यो क्षेत्रमा अझ धेरै संघर्ष गर्नेछु’ खातुनले भनिन् । खातुनलाई उक्त पुरस्कार मार्च ८ तारिखका दिन भर्चुअल कार्यक्रममार्फत् अमेरिकी प्रथम महिलाले प्रदान गर्नेछिन् । कानुन परिवर्तनमा भूमिका यसअघि यो पुरस्कार पाकिस्तानमा बालिका शिक्षाका लागि वकालत गर्दै आएकी नोबेल शान्ति पुरस्कार बिजेता मलाला युसाफजाइले पनि पाइसकेकी छन् । खातुनले मलालाले पनि यो पुरस्कार पहिला पाएकी थिइन् भन्ने कुराले आफूलाई थप खुसी तुल्याएको बताइन् । ‘मलालाले पाइसकेको पुरस्कार मैले पनि पाएँ भनेर मलाई खुसी लाग्यो । मैले जस्तै अन्य महिलाले पीडा भोग्नु नपरोस भनेर अझ धेरै काम गर्छु’ उनले भनिन् । सन् २०१९ मा मुस्कान १५ वर्षकी छँदा एक किशोरका प्रेम–प्रस्ताव अस्वीकार गरेकोमा तेजाब आक्रमणको सिकार भएकी खातुन दुईपटक गरेर करिब सात महिना अस्पतालमा उपचार गराएकी थिइन् । अनुहार र शरीरमा चोट लागेकी उनले आफू पीडित भएयता एसिड आक्रमण गर्नेलाई कडा कारबाही हुनुपर्ने विषयमा आवाज उठाउँदै आएकी थिइन् । यसअघि बीबीसीसँग उनले भनेकी थिइन्, ‘मैले जस्तो कसैले भोग्नु नपरोस् । एसिडले पोलेको दागले मेरो सपना छेक्न सक्दैन ।’ सरकारले केही महिनाअघि त्यस्तो अपराध गर्नेलाई कडा सजाय हुनेगरी कानुनमा परिवर्तन गरेको थियो । ‘यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्वपूर्ण थियो । नेपालस्थित अमेरिकी दूतावासलाई उनको समर्थन र नेपालमा महिला तथा किशोरीहरूको अधिकारको प्रगतिलाई प्रोत्साहन गर्नमा गर्व छ’, दूतावासले आफ्नो वेबसाइटमा लेखेको छ । दक्षिण एसियामा कति महिलाले पाए सम्मान ? विगत १५ वर्षदेखि दिँदै आएको यो अवार्ड अहिलेसम्म अमेरिकी सरकारले विश्वभरका ७५ देशका १५५ जनालाई प्रदान गरिसकेको छ । शान्त, न्याय, मानवअधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि उल्लेखनीय भूमिका निर्वाह गर्ने महिलालाई यो पुरस्कार दिने गरिन्छ । यो वर्ष विश्वभरिबाट १४ जनाले पाएकोमा दक्षिण एसियाबाट पाउनेमा खातुन र श्रीलंकाकी एक वकिल छन् । यसअघि दक्षिण एसियामा अफगानिस्तान, बंगलादेश, पाकिस्तानलगायत देशका महिलाले पाइसकेका छन् ।–बीबीसी