राजधानी आएर औपचारिक सार्वजनिक ‘विप्लव’ले भने, ‘सरकारसँगको सहमति पालना गर्छाैं’

शनिबार, फागुन २२, २०७७

काठमाडौं । विप्लव समूह भनेर चिनिने नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ औपचारिक रूपमा सार्वजनिक भएका छन् । सरकार र सो पार्टीबीच तीन बुँदे सहमति भएको भोलिपल्ट उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एउटै मञ्चमा उपस्थित भए । समारोहलाई सम्बोधन गर्दै चन्दले शुक्रवारलाई नेपाली राजनीतिको ‘एउटा नयाँ दिन’ भनेका छन् । सहमति भएका तीन बुँदाप्रति प्रतिबद्ध रहेको र त्यसलाई पालना गर्ने चन्दले बताएका छन् । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिलाई ठूलो सफलताको संज्ञा दिए । साहसिक कदम चालेको भन्दै प्रधानमन्त्रीले नेकपाका महासचिव चन्दलाई धन्यवाद दिए ।

ओलीले के भने ?
‘आज एउटा ऐतिहासिक काम भएको छ । अन्तिम किस्तामा नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन’ प्रधानमन्त्री ओलीले समारोहलाई सम्बोधन गर्ने क्रममा भने, ‘अब नेपालमा हिंसात्मक बाटो र हिंसात्मक कार्यदिशा कसैले अवलम्बन गरेको छैन ।’आगामी दिनमा चन्द नेतृत्वको नेकपाले शान्तिपूर्ण ढङ्गले आफ्ना गतिविधि गर्ने बताउँदै प्रधानमन्त्री ओलीले प्रक्रिया पु¥याएर विप्लव समूहका नेता तथा कार्यकर्तालाई छोडिने बताए । प्रधानमन्त्री ओलीले सरकार र नेकपाबीच रातारात सहमति नभएको उल्लेख गरे । ‘रातारात होइन । वर्षांैदेखि वार्ता चलिरहेको थियो’ उनले भने । 

चन्दले के भने ?
‘यो सहमति केवल सरकार र नेकपाको कुरा मात्रै होइन । यो सहमतिपछाडि एउटा महान आकाङ्क्षा छ’ उनले थपे । ‘नेपाली जनताका चाहना अझै पूरा नभएको र शहीदको सपना मर्न नदिने’ उनले उल्लेख गरे । उनले सरकार र आफ्नो पार्टीबीच सहमतिमा सघाउने सबैलाई धन्यवाद दिए । यसअघि प्रधानमन्त्री ओलीसँग आफ्नो कुराकानी भएको उनले खुलासा गरे । जनता के चाहन्छन् भन्ने विषयमा जनमत बुझ्न अझै आवश्यक रहेको उनको भनाइ छ । ‘हामीले एकचोटि त्यसका लागि आँट गर्नुपर्छ’ उनले भने, ‘म सबैलाई आग्रह गर्न चाहन्छु जुन अवसर हामीले प्राप्त गरेका छौँ त्यसलाई जनताको हितमा सार्थक बनाऔँ ।’

सहमतिपत्रमा हस्ताक्षर
शुक्रबार राष्ट्रिय सभाको हस्ताक्षर कार्यक्रमअघि चन्द प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।
२०७५ सालको फागुन अन्तिम सातातिर प्रधानमन्त्री केपी ओली नेतृत्वकै सरकारले सरकारले सो पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो । सहमतिपत्रमा सरकारका तर्फबाट वार्ता टोली संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाको तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले तीन बुँदे सहमतिमा उल्लिखित बुँदाहरू पढेर सुनाएका थिए । उनका अनुसार सहमतिमा पुग्नुअघि सरकार र नेकपाबीच झन्डै एक वर्षदेखि विभिन्न तहमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा छलफल हुँदै आएका थिए । नेकपाको तर्फबाट वार्ता टोलीका सदस्य उदयबहादुर चलाउनेले शुक्रवार ऐतिहासिक दिन भएको भन्दै आजको दिनले नेपालको इतिहासमा एउटा योगदान दिने बताए ।

प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  ०३:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार