सोसल मिडिया
Contact Us
युनिकोड
लण्डन । बेलायतकी डचिस अफ ससिक्सले ब्रिटिश राजपरिवारले उनी र उनका पति राजकुमार ह्यारी विरुद्ध गलत खबरहरू फैलाइरहेको हुनसक्ने बताएकी छन् । उनी महारानी एलिजाबेथकी कान्छी नातिनी बुहारी हुन् । प्रसिद्ध अमेरिकी टेलिभिजन कार्यक्रम प्रस्तोता ओप्रा विन्फ्रेलाई दिएको एक भिडिओ अन्तर्वार्ताको एक अंशमा डचिस मेगन मार्कलले ब्रिटिश राजपरिवारले उनी चुप लागेर बस्छिन भन्ने अपेक्षा नगरेपनि हुने बताएकी छन् । उक्त अन्तर्वार्ता प्रसारण हुनअघि उनको त्यस्तो अभिव्यक्त रहेको भिडिओ क्लिप सार्वजनिक गरिएको छ । मेगन मार्कलले उनी केन्सिङ्गटन राजदरबारमा बस्दा त्यहाँका कर्मचारीहरूलाई डरधम्की देखाएको भन्ने आरोपका सम्बन्धमा छानबिन गरिने शाही अधिकारीहरूले बुधबार बताएका थिए । ओप्रा विन्फ्रेसँगको अन्तर्वार्ता रेकर्ड भैसकेपछि मात्रै मेगन मार्कल विरुद्ध लगाइएको अभियोगबारेका विवरणहरू सार्वजनिक भएका हुन् । ड्यूक र डचिस हाल क्यालिफोर्नियामा बस्छन् । अमेरिकामा आइतवार र बेलायतमा सोमबार प्रसारण हुने भनिएको उक्त अन्तर्वार्तामा ह्यारी र मेगनले ब्रिटिश राजपरिवारको सक्रिय सदस्यका रूपमा विताएको छोटो समयको अनुभवबारे बताउने अनुमान गरिएको छ । सीबीएस टेलिभिजनले सार्वजनिक गरेको उक्त कार्यक्रमको ३० सेकेन्ड लामो अंशमा ओप्राले सोध्छिन ‘तपाईंले आफ्नो बारेमा आज सत्यतथ्य बताएको कुरा सुनेर राजदरबारले कस्तो प्रतिक्रिया देला भन्ने लाग्छ ?’ जबाफमा मेगन भन्छिन्, ‘द फर्म (राजदरबार) ले हाम्राबारेमा नभएका कुराहरू फैलाउनमा सक्रिय भूमिका खेलिरहेको अवस्थामा यतिका समय बितिसक्दा पनि हामी त्यतिकै चुप लागेर बस्नेछौँ भनेर तिनीहरूले कसरी अपेक्षा गर्न सक्छन् र ?’ सन् २०२० को माच महिनामा ड्यूक र डचिस अफ ससिक्सले ब्रिटिश राजपरिवारका सक्रिय वरिष्ठ सदस्यका रूपमा आफ्नो जिम्मेवारी परित्याग गरेका थिए । राजकुमार ह्यारी र मेगन मार्कल हाल छोरा आर्चीसहित अमेरिकामा बसोबास गर्छन् । बेलायतको टाइम्स समाचारपत्रमा बुधबार प्रकाशित समाचारमा मेगन मार्कलले राजपरिवारको सक्रिय सदस्यको हैसियतमा रहेका बेला उनले आफ्ना कर्मचारीलाई डरधम्की देखाएको भन्ने आरोप लागेको भनिएको छ । सन् २०१८ को मे महिनामा भएको विवाहपछि ह्यारी र मेगन केन्सिङ्गटन दरबारमा बसेका बेला त्यही वर्षको अक्टोबर महिनामा डचिसको व्यवहार विरुद्ध उजुरी परेको समाचारमा उल्लेख छ । राजकुमार ह्यारी र मेगनले त्यस्तो आरोपको खण्डन गरेका छन् । मेगनको प्रवक्ताले सो समाचारका सम्बन्धमा एक वक्तव्य जारी गर्दै ‘उनको चरित्रमाथिको यो पछिल्लो आक्रमणबाट डचिस साह्रै दुःखी भएको’ बताएका छन् । यसअघि नै राजकुमार ह्यारीले आफू र आफ्नो परिवारलाई बेलायती प्रेसबाट जोगाउनका लागि सक्रिय राजकीय जीवन परित्याग गर्ने निर्णय गरेको बताएका थिए ।–बीबीसी