नेकपा दाहाल–नेपाल समूहले दलबाट ओली, नेम्वाङलाई हटायो

पछिल्लो निर्णय संसद् सचिवालयलाई जानकारी
बिहीबार, फागुन २०, २०७७

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरीलगायतलाई हटाएकोबारे संघीय संसद् सचिवालयलाई जानकारी गराएको छ । प्रमुख सचेतक देव गुरुङसहितका नेताहरु बिहीबार संघीय संसद् सचिवालय सिंहदरबार पुगेर दलका नेता ओली, उपनेता नेम्वाङ, सचेतक चौधरीलाई जिम्मेवारीमुक्त गरेको जानकारी गराएका हुन् । ‘संसद् पार्टीका संसदीय दलका निर्णयअनुसार चल्ने भएकाले हामीले पार्टीमा भएको परिमार्जनबारे संसद् सचिवालयलाई जानकारी गराएका छौं । प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवासचन्द्र नेम्वाङलगायतका व्यक्तिबारे पार्टीले गरेका निर्णय जानकारी गराएका हौैं’ सचेतक गुरुङले भने । 
संसदीय दलमा भएको परिमार्जनबारे जानकारी दिन दाहाल–नेपाल पक्षका प्रमुख सचेतक गुरुङसहित सांसदहरु सुरेन्द्र पाण्डे, पम्फा भुसाल, दिनानाथ शर्मा र जीवनराम श्रेष्ठ संसद् सचिवालय पुगेका थिए । बहुमत केन्द्रीय सदस्यको सहभागितामा ओलीलाई पार्टी सदस्यबाटै हटाइसकेकोले संसदीय दलको नेताको रुपमा समेत रहन नसक्ने भन्दै सचिवालय, संसदीय दल र सम्बन्धित सबैलाई जानकारी गराइएको छ । नेकपा दाहाल नेपाल समूहको माघ १९ गते बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई आकस्मिक र असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्नुका साथै गम्भीर रुपमा पार्टी अनुशासन उल्लंघन गरेको भन्दै पार्टी सदस्यबाट समेत हटाउने निर्णय गरेको थियो । उता, नेकपाको ओली समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर उनको ठाउँमा सांसद विशाल भट्टराईलाई मनोनयन गरिसकेको छ । ५ पुसमा प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि नेकपा स्पष्ट रुपमा दुई खेमामा विभाजित भएको छ । दलको औपचारिक विभाजन भने भएको छैन । नेकपाको कुन पक्षलाई आधिकारिता मान्ने भन्ने सम्बन्धमा निर्वाचन आयोगले पनि निर्णय दिइसकेको छैन । 
 

प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  २१:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार