सोसल मिडिया
Contact Us
युनिकोड
बैतडी । आपराधिक घटना परिवार र आफन्तबाटै हुने गरेकोे छ । जिल्ला प्रहरी कार्यालयले पाटन र मैलौली नगरपालिकामा आयोजना गरेको ‘नागरिक सुनुवाई’ कार्यक्रममा आफन्तबाटै जोगिन मुस्किल भएको आवाज नागरिकले राखेको प्रहरीले बताएको छ । प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले नागरिकका गुनासो सुन्ने र शान्तिसुरक्षा कायम गर्न ‘थप के कुरा गर्नुपर्छ’ भनेर कार्याक्रम आयोजना गरिएको जानकारी दिए । उनले भने, ‘हामीले आयोजना गरेको कार्यक्रममा उपस्थित व्यक्तिले नै परिवार र आफन्तबाटै जोगिन गाह्रो भएको बताउँदै आएका छन् ।’ जिल्ला प्रहरी कार्यालयका अनुसार यही फागुन १८ गते मात्रै जिल्लाको पञ्चेश्वर गाउँपालिका– ५ का राजबहादुर चन्दले आफ्ना तीन महिने छोराको हत्या गर्नुका साथै बुबाआमा, श्रीमती र भाइलाई कुटपिट गरेको घटना सार्वजनिक भएको छ । यसका साथै गत माघ अन्तिम सातातिर जिल्लाको पुर्चौडी नगरपालिकामा बुबाले छोरीलाई गोली हानी हत्या गरेको घटना सार्वजनिक भयो । गत माघ २१ गते दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्याको घटनामा भाइ नातापर्ने दिनेश भट्टको संलग्नताको आरोप लागेको छ । ती केही आपराधिक घटना परिवार र आफन्तबाटै भएका हुन् । प्रनाउ अधिकारीले भने, ‘घरपरिवारबाटै हिंसा र आपराधिक घटना हुन थालेपछि प्रहरीलाई सुरक्षा चुनौती बढेको छ ।’
मदिरा मुख्य कारण आपराधिक घटना हुनुमा मदिरा सेवन मुख्य कारण देखिएको छ । नागरिक सुनुवाइ कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले मदिरा सेवन गरेकै कारण हिंसा र आपराधिक घटना बढी हुनेगरेका बताए । उनले भने, ‘नब्बेप्रतिशत आपराधिक घटना मदिरा सेवनका कारण हुने देखिएका छन् ।’ दैनिक उपभोग्य तथा खाद्यान्न पाइने पसलमासमेत मदिरा बिक्री हुने गरेको स्थानीयवासीले गुनासो गरेका थिए । मदिरा बिक्रीवितरण तथा सेवन रोकथाम तथा नियन्त्रण गर्नका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका हुनेमा प्रहरीको जोड छ । चेतनाको कमीका कारणले पनि आपराधिक घटना बढिरहेका प्रहरीले जनाएको छ । चेतना अभावको कमीले पनि आपराधिक घटना हुने गरेका प्रहरी उनले बताए । उनले भने, ‘चेतनाको अभावले यस्ता घटना बढेका देखिन्छन ।’ अन्य सहभागीले युवापीढिका लागि मनोपरामर्श जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने, टोलटोलमा हुने गरेका जुवातास र अवैध मदिरा बिक्री वितरण तथा सेवनलाई न्यूनीकरण गर्नुपर्ने सुझाव दिएको थियो । जिल्लाका सबै स्थानीय तहमा प्रहरी नागरिक सुनुवाइ गर्ने कार्यक्रम रहेको छ । हालसम्म पाटन र मेलौली नगरपालिकामा सम्पन्न भइसकेको छ । बाँकी रहेका अन्य स्थानीय तहमा पनि केही दिनमै निरन्तर रुपमा कार्यक्रम सञ्चालन गरिने प्रहरीले जनाएको छ ।–रासस