राउटे अगुवाले मुख्यमन्त्री शाहीसँग मागे खाना र पाल 

बुधबार, फागुन १९, २०७७

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राउटे अगुवा दिलबहादुर शाहीले भेटेका छन् । आफ्ना जनताका लागि खानाको समस्या भएको भन्दै मंगलबार मुख्यमन्त्री शाहीको कार्यकक्षमा पुगेका दिलबहादुरले गुराँस गाउँपालिकाले चार महिनासम्म भत्ता नदिएको गुनासो पोखे ।  गाउँपालिकाले दिने प्रतिव्यक्ति मासिक रु तीन हजार नपाउँदा खानलाई चामल किन्न नसकेकाले भोको पेटमा सरकारसमक्ष बिन्ती बिसाउन आएको उहाँले बताए । ‘मेरा जनता भोकले मर्न आँटे । म पनि भोकै यहाँ आएको छु’, उनले भने, ‘पेटभन्दा ठूलो केही छैन । सरकारले भत्ता र रासनपानी दिएर पठाउनु प¥यो ।’  उनले ४६ घर परिवारका सबैलाई खानका लागि चामल नहुँदा भोकले ठूलो समस्या बनाएको भन्दै जतिसक्दो छिटो सम्बोधन गरिदिन मुख्यमन्त्रीलाई आग्रह गरे ।  आफ्नै कार्यकक्षमा भोकको समस्या बोकेर आएका राउटे अगुवा दिलबहादुरको टोलीलाई मुख्यमन्त्री शाहीले चिन्ता नलिन आग्रह गरे । उनले राउटेको ४६ घर परिवारका लागि प्रदेश सरकारले खानासहित ओतका लागि व्यवस्थित पाल उपलब्ध गराउने वचन दिए ।  राउटेले मुख्यमन्त्री शाहीलाई काठको कोसी र ठेकी उपहार दिएका थिए । त्यस्तै कर्णाली प्रदेशका प्रमुख सचिव चन्द्रमान श्रेष्ठलाई पनि उनीहरूले कोसी उपहार दिएका थिए । प्रदेश सरकारले केही रासनपानी दिएपछि खुशी भएर उनीहरू फर्केका थिए ।  सङ्घीय सरकारले प्रतिराउटे मासिक रु तीन हजार दिँदै आएकामा कर्णाली प्रदेश सरकारले चालु आवदेखि उनीहरूलाई मासिक रु दुई हजार भत्ता थपेको छ । मुख्यमन्त्री शाहीले राउटेलाई स्थायी घर निर्माण गरिदिने प्रस्ताव राख्दा अगुवा दिलबहादुरले आफ्नो फिरन्ते पहिचान मेटिने तर्क गरे ।  पछिल्लो समयमा उनीहरूलाई अस्थायी भए पनि पालको व्यवस्थित बास बनाउने योजना बनाइएको प्रदेश सरकारले जनाएको छ ।–रासस

प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १०:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार