त्रिभुवन भारत जादा वीपीले भनेका थिए, 'अब राजनीति हाम्रो हातबाट विदेशीको हातमा गयो'

सोमबार, फागुन ९, २०७८

रणबहादुर शाहले विसं १८६० मा गोर्खाली छ थरी भारदार र मुख्यकाजी दामोदर पाँडेलाई मारेर भीमसेन थापालाई मुख्य काजी बनाए । भीमसेन थापा मुख्य काजी भएपछि २र३ वटा घटना भए । एउटाचाहिँ दरबारमा दाजुभाईको झगडा पर्‍यो। रणबहादुर शाह र  उनका मठ्या भाई शेरबहादुर शाह र विदुर शाहबीचमा झगडा पर्‍यो । रणबहादुरले शेरबहादुरलाई मृत्युदण्ड दिने घोषणा गरे। “मलाई मृत्युदण्ड दिने तिमीलाई नै म मृत्युदण्ड दिन्छु” भनेर सभामा नै शेरबहादुरले रणबहादुरलाई काटिदिए। रणबहादुर त्यतिबेला जोगी भइसकेका थिए तैपनि राजकाजमा दखल दिइनै रहन्थे । रणबहादुर काटिएपछि भीमसेन थापाले राजा मार्ने यीनै हुन भनेर ७७ जना पुरूष मारे, भेटेजति त्यही सभाहलमा मारे नभेटेकालाई घरबाट ल्याएर पनि मारे। १६ जना स्त्रीलाई सति पठाए। पाल्पाका राजा पृथ्वीपाल सेनलाई विवाह गर्न बोलाइएको थियो, उनलाई पनि थुनामा राखियो । यो घटनामा भीमसेन थापाले आफ्ना प्रतिद्वन्द्वी सबैलाई सखाप पारे। रणबहादुर शाहका २ दाजुभाई शेरबहादुर शाह र विदुर शाह मारिए ।

यो हत्याकाण्डपछि शाहवंशबाट थापावंशमा शासन आयो।बिफर काण्डमा दरबारमा बिफर सर्छ भनेर बालबालिकालाई टाढा पठाउँदा उनीहरूका अभिभावक पनि जान पर्ने स्थीति आएको थियो भने ढिकुटी भर्नका लागि बिर्तामा दिइएका जग्गा रैकर बनाएकाले भिमसेन थापाको भीत्रभीत्र बिरोध बढन थाल्यो।यसबीचमा अंग्रेजसँग युद्ध भयो, नेपालको हार पनि भयो, टिस्टा र सतलज पुगेको नेपाल महाकाली र मेचीको बीचमा खुम्चियो। तर नाबालक राजा राजेन्द्र बालिग नभएसम्म थापा शासन चल्यो ।

सत्ता संघर्षमा दामोदर पाँडेका दुई छोरा मारिएपनि मुग्लान पसेका रणजङ्ग पाँडे अंग्रेजसँग युद्धको क्रममा नेपाल छिर्न पाएका थिए।पाँडे थापाहरूको द्वन्द्वमा राजाकी जेठी रानी पाँडे पक्षमा थिइन भने कान्छीचाहिँ थापाका पक्षमा। कान्छी रानीले भागेर विदेश पसेका थापाहरूमध्ये माथवरसिंहलाई ल्याएर प्रधानमन्त्री बनाइन।त्यसपछि पाँडेहरूलाई सखाप बनाउने काम भयो। एउटा बिराउने शाखा सिद्धाउने चलन थियो, एउटाले अपराध गरे शाखासन्तान नै सखाप पारिन्थ्यो। २ वर्षदेखि ६२ वर्षसम्मका ३९ जना पाँडे सखाप पारियो।

कान्छी रानीको चाहना आफ्नो छोरालाई शासन दिलाउने थियो। त्यस काममा सहयोग गर्नेलाई नै उनले सबै अधिकार दिन्थिन।अधिकार दिएर ठूलो पारेपछि  किन टेर्थेरु राजालाई पनि टेरेनन्, रानीलाई पनि टेरेनन्।उनले जेठालाई राजा बनाउन जन्माइसक्यो, त्यो नियम तोडेर म अर्थोक गर्न सक्दिन भनेर माथवरसिंहले जवाफ दिएपछि यसलाई पनि मार्न पर्‍यो भनेर जंगबहादुरलाई लगाए। माथवरसिंह र जंगबहादुरबीचमा अलिक ठयाकठुक भएको रानीले थाहा पाएर नै यो काम सम्पन्न गर्न उनलाई लगाएकी थिइन। झकाझकी मार्न नसकिने भएपछि राती रानी बिरामी भइन भनेर माथवरसिंहलाई बोलाइयो र जंगबहादुर लुकेर बसे अनि उनी खोपीमा पस्ने बित्तिक्कै डयाम्म गोली ठोकेर मारिदिए । अनि राती नै लाश पोको पारेर आर्यघाटमा लगेर जलाइदिए। यो काण्डसँगै जंगबहादुरको उदयको शुरूवात भयो ।

कान्छी रानीको छोरालाई राजा बनाइदिन्छु भनेर कबोल गर्ने गगनसिंह खवास थिए।रानीको साह्रै मन पर्ने भएकाले उनलाई जर्नेल बनाएर उनलाई सात पल्टन दिएर राखिएको थियो।जबकी जंगबहादुर अन्तरगत तीन पल्टन मात्र थियो।राजाले पनि गगनसिंह मार्नका लागि कसैलाई अह्राएका थिए। गगनसिंह मारिएपछि कोत पर्व भयो। कोत पर्व जंगबहादुरले गराएको भन्दा पनि राजा र रानीको आदेश अनुसार गराइएको हो भन्नु उपयुक्त हुन्छ। र त्यसपछि एक सय चार वर्ष राणा शासन चल्यो।

भिमसेन थापाले दरबारको दुईवटा कुरा, एउटा लाममोहर लाउने अधिकार र अर्को ढकुटी साँचोचाहिँ आफ्नो बनाउन सकेका थिएनन्। त्यसको प्रयोग रणबहादुरकी कान्छी रानी त्रिपुरासुन्दरीको हातमा थियो। माता रानी भन्थ्ये उनलाई। १८८८ सालमा त्रिपुरासुन्दरी मरेपछि बालिग भएका राजारानी मध्ये कहिले जेठी रानी शक्तिशाली हुन्थिन त कहिले कान्छी रानी। उनीहरूको द्वन्द्वमा विदेशीले पनि खेल खेल्न थालिसकेका थिए।कान्छी रानीको छोरालाई राजा बनाउने कुराले दरबारमा निकै भद्रगोल भइरहेको थियो।

यसबीचमा जंगबहादुरले श्रीमद् राजकुमार कुँवर राणाजी भन्ने पदवी लिए। खस क्षेत्री कुँवरबाट ठकुरी क्षेत्री राणा भएँ। हामीले जंगबहादुर जति गाली गरेपनि उनी अलिकति राष्ट्रवादी थिए।उनले दुईवटा काम गरेनन्, गोर्खालीचाहिँ धेरै बहादुर हुन्छ त्यसलाई चाहिँ एउटा रेजिमेन्ट बनाउन पर्‍यो भनेर भागिनाशी गएका नेपालीहरूलाई जागिर दिदैँ अंग्रेजले एउटा रेजिमेन्ट खडा गरेको थियो। त्यसलाई बढाउनका लागि अंग्रेज नेपाली जनशक्ति माग्ने तर जंगबहादुर नदिने। जंगबहादुरको सिद्धान्त नै आफ्नो देशको पैसा पनि बाहिर लानु हुँदैन अनि आफ्नो देशको जनशक्ति पनि बाहिर लानु हुँदैन भन्ने थियो। द्रव्य शक्ति र जनशक्ति नै राज्यको बल हो भन्ने उनको सिद्धान्त। अहिले हेर्नुस् त न जनबल छ न धनबल छ ।

राणा शासनमा पनि वीरसम्शेर अगाडिसम्म त हाम्रो शासनसत्ता राष्ट्रवादी शक्तिकै हातमा रह्यो। रणजंग पाण्डेले अंग्रेजविरूद्ध विद्रोहको योजना बनाए। अफगानिस्तानदेखि बर्मासम्म एकै दिन एकै घडी बिद्रोह गरेर अंग्रेज भगाउन खोजेका थिए।उनले सबैतिर आफ्ना दुत पठाए। तर ग्वालियरका राजा जनकोजी राव सिन्धियाले धोका दिए। उनले अंग्रेजसमक्ष सबैकुरा खोलिदिए र नेपाली दुत पक्राउ परे। नेपाली दुत छुटाउनका लागि त्यतिबेला नेपालमा रहेका अंग्रेज राजदुत हडसनले एउटा सम्झौता गराए, जसमा नेपालले गंगाजी पारीका राजासँग सम्बन्ध बनाउन नपाउने बनाइदियो। त्यससँगै अंग्रेज बिरोधी मान्छेलाई यहाँ बजिर बनाउन नपाउने पनि बनायो। जंगबहादुर त आफ्नै बलवुताले आए तर त्यसपछिका सबैजसो त अंग्रेज वा भारतकै कम्फर्टेबल सरकार नै बन्दै आएको छ।

अब क्रान्तिको कुरा गरौं। पक्राउ परेका गणेशमानलाई मार्ने र तोरणसम्शेर तथा सुन्दरराज चालिसेलगायतलाई आजिवन थुन्ने भनेर लालमोहर लगाउनका लागि राणाहरू राजाका पुगे। तर राजाले तिमीहरूका सन्तानले मलाई भुल्याए अब म भुलमा पर्दिन। यो मान्छे मार्ने काम मबाट हुँदैन भनेर इन्कार गरे। त्यतिबेला बबरसम्शेरले राजाको जुल्फी नै समातेर यो ठकुरीलाई जहाँबाट आएको हो त्यही गोर्खा पुर्‍याउने र युवराजलाई पाल्पामा थुन्ने भनेका थिए रे।

काँग्रेसको योजना पनि राजालाई राणाबाट मुक्त गराएर क्रान्ति गर्ने थियो। त्यसका उनीहरूले तामदाम बोकेर भीमफेदी पुर्‍याउनेदेखि नवलपरासीमा प्लेन ल्याण्ड गर्ने खालको चौर बनाएर राजालाई काठमाडौँबाट प्लेनमा ल्याएर पाल्पामा राख्ने सम्मको योजना बनाएको थियो। तर राजाले हिम्मत गरेनन्। उनी त शिकार खेल्न जाने निहुँमा सपरिवार राजदुताबासको शरणमा पुगे।राणाहरूले फकाउन प्रयास त गरे तर राजा मानेनन् र नेहरूले पठाएको जहाजमा भारत गए।

त्यतिबेला नै वीपीले भनेका थिए( अब राजनीति हाम्रो हातबाट विदेशीको हातमा गयो। नभन्दै अहिलेसम्म त्यसै भइरहेको छ। त्यसपछि आन्दोलन शुरू भयो। यो आन्दोलन जिल्लाका अड्डा कब्जा गर्ने  आन्दोलन थियो। जनता नमारिने अड्डा पनि कब्जा हुने आन्दोलन।

२००७ सात कार्तिक २२ गते क्रान्ति सुरू भएकोमा मोहन सम्शेरले पुस २४ गते राजासँग मिल्ने प्रस्ताव पठाए। सात सालमा राणा र काँग्रेसको सम्झौता भयो, नेहरूले सम्झौता गराए भन्छन् तर त्यहाँ कुनै सम्झौता भएको थिएन। न त त्यस्तो कुनै लिखत नै छ।

नेहरू र बीपीका बीचमा एक किसिमको तनाव त्यतिबेला मन्त्री छान्ने क्रममा नै भएको थियो। मन्त्रिमण्डलमा पूर्वका मान्छे मात्र परेर भनेर पश्चिमका मान्छे पनि राख्ने नाम प्रस्ताव गर्ने क्रममा नेहरूले सूर्य प्रसाद उपाध्यायको नाम भने । त्यतिबेला नै वीपीले नेहरूलाई तपाई संसारकै इतिहास र भुगोल जान्नुहुन्छ तर नेपालचाहिँ बुझ्नु भएको रहेनछ किनकी यो मान्छे मेरै गाउँको भनेका थिए रे। त्यसपछि नेहरू रिसाए।

सात सालमा मोहनसम्शेरको प्रधानमन्त्रीत्वमा सरकार त बन्यो भारतको चाहनाचाहिँ आफू अनुकुलका निर्णय हुन भन्ने रहन्थ्यो तर  वीपी त्यो कुरा नमान्ने । मातृका र वीपीको झगडा पनि भारत अनुकुलका निर्णय गर्ने वा नगर्ने भन्ने कुराकै झगडा हो।

काँग्रेसले दुइतिहाइ मत ल्याएर चुनाव जित्यो। ‍गणना सकिएको २र३ महिनासम्म पनि  राजाचाहिँ सरकार बनाउन आव्हान नै नगर्ने। खासमा राजा र नेहरू दुवै सूवर्ण सम्शेरलाई प्रधानमन्त्री बनाउन चाहन्थे। यसबीचमा महेन्द्र त आफू अनुकुलका सैनिक कमाण्डको नियुक्ति गर्ने परिबन्द मिलाउँदै थिए। पछि सूवर्ण सम्शेरले नै वीपीको पक्षमा बोलेपछि कुनै विकल्प भएन र वीपी प्रधानमन्त्री भए।

वीपीले संयुक्त राष्ट्रसंघमा बोल्ने क्रममा इजरायललाई सदस्यता दिने निर्णयको समर्थन गरे। त्यतिबेला सोभियत संघको नेतृत्वमा वार्सा सन्धिवालाहरू इजरायलको विरोधी थिए, यसमा भारत पनि थियो। नेटोवालाहरू इजरायललाई सदस्यता दिने पक्षमा थिए।वीपीको समर्थनले धेरै कुरामा फरक पर्‍यो त्यतिबेला युरोपका पत्रपत्रिकामा वीपीलाई एसिका तारा भनेर छापियो। आफ्नो हाकाहाकी विराधी भएकोमा नेहरू वीपीसँग खुब रिसाए र जहिले पनि राजालाई यो कोइरालालाई निकाल भनिरन्थ्ये रे। नेपालको प्रजातन्त्र खोसिनुमा जति राजाको महत्वाकांक्षा जिम्मेबार छ त्यति नै नेहरूको वीपी प्रतिको रिस पनि छ।-श्रोत :स्वतन्त्र समाचार

यो वसन्त पञ्चमीमा ९० वर्षको पुगेका इतिहास र संस्कृतिका अध्येता ज्ञानमणि नेपालसँगको कुराकानीमा आधारित।

 

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  १८:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार