सोसल मिडिया
Contact Us
युनिकोड
वासिङ्टन । एउटा नयाँ खोपले कोभिड–१९ बाट झन्डै ९५ प्रतिशत सुरक्षा दिने प्रारम्भिक तथ्यांकबाट देखिएको अमेरिकी कम्पनी मोडेर्नाले जनाएको छ । फाइजर कम्पनीले विकास गरेको खोपका नतिजाहरू सार्वजनिक भएलगत्तै आएको पछिल्लो परिणामबाट खोपहरूले कोरोनाभाइरस महामारी अन्त्य गराउन सघाउने कुरामा आत्मविश्वास बढेको छ । दुवै कम्पनीले कोरोनाभाइरसविरुद्ध खोपहरूको विकासमा एकदमै नवीन खालको प्रयोग गरेको बताएका छन् । मोडेर्नाले यसलाई एउटा ‘ठूलो दिन’ भनेको छ र अबका केही साताभित्र खोप प्रयोग गर्नका लागि अनुमति लिन आवेदन दिने जनाएको छ । यद्यपि यो प्रारम्भिक तथ्यांक हो र महत्वपूर्ण प्रश्नहरू अझै अनुत्तरित छन् ।
कति प्रभावकारी छ ? यो खोपको परीक्षणमा ३० हजार अमेरिकी सहभागी भएका थिए । तीमध्ये आधालाई दुई पटक खोप लगाइएको थियो । बाँकीलाई ‘डम्मी खोप’ (वास्तविक खोप होइन) लगाइएको थियो । पछिल्लो नतिजा सहभागीमध्येकै ९५ जनामा कोभिड सङ्क्रमण भएपछि निस्किएको हो । ती ९५ मध्ये केवल ५ जनामात्र वास्तविक खोप दिइएकाहरू थिए । बाँकी ९० जना ‘डम्मी खोप’ दिइएकाहरू थिए । यो खोपले कोरोनाभाइरसबाट ९४.५ प्रतिशत सुरक्षा दिएको कम्पनीले जनाएको छ । ‘समग्रमा यसको प्रभावकारिता उल्लेखनीय छ । यो ठूलो दिन हो’ मोडेर्नाका चिफ मेडिकल अफिसर ताल जाक्सले भने । सुरक्षासम्बन्धी कुनै महत्वपूर्ण चासोबारे केही कुरा आएको छैन । तर प्यारासिटामोलसहित कुनै पनि शतप्रतिशत सुरक्षित छैन । खोप लगाइएपछि केही बिरामीमा थोरै समय थकान, टाउको दुखाइ र पीडा भएको थियो । ‘कुनै खोपले यदि काम गरिरहेको छ र एउटा राम्रो प्रतिरोधी क्षमता उत्पन्न गराइरहेको छ भने यस्ता खाले असरको हामीले अपेक्षा गर्न सक्छौँ’ इम्पेरीअल कलेज लन्डनस्थित प्राध्यापक पिटर ओपेनशाले भने ।
भण्डारणमा सहज मोडेर्नाको खोप भण्डारण गर्न यसअघि आएको फाइजरको खोपभन्दा सहज हुने देखिन्छ । यसलाई माइनस २० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म स्थिररूपमा भण्डारण गर्न सकिन्छ अनि सामान्य फ्रिजमा एकमहिनासम्म राख्न सकिन्छ । फाइजरको खोपलाई भने माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने थियो ।–बीबीसी