कतारबाट फर्केका हेमबहादुरको उखु र मेवा खेती

आइतबार, फागुन ८, २०७८

तनहुँ, ८ फागुन । कतारबाट फर्किएपछि तनहुँका एक युवकले व्यावसायिक रुपमा उखु र मेवा खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । व्यास नगरपालिका–११ घाँसीकुवा निवासी हेमबहादुर लामा विदेशको रोजगारी छाडेर स्वदेशमै उक्त व्यवसाय गरी आम्दानी लिन थालेका हुन् । करिब पाँच वर्ष कतारमा स्टोर किपरको राम्रो जागिर गरेका उनले स्वदेशमै केही गरौँ भन्ने सोचका साथ जागिर छाडेर आई व्यावसायिकरूपले उखु र मेवा खेतीतर्फ लागेका हुन् । व्यास नगरपालिका–११ स्थित गैह्राबारी भन्ने स्थानमा लामा कृषि तथा पशु फार्म दर्ता गरी वार्षिक डेढ लाख रुपैयाँ भाडा बुझाउने गरी बाइस रोपनी जग्गा भाडामा लिएर लामाले उखु र मेवा खेती गरेका छन् ।  करिब १७ रोपनी जमिनमा उखु र पाँच रोपनीमा मेवा खेती गरिएको उनले बताए । सुरुमा नौ लाख रुपैयाँ लगानी गरी व्यवसाय थालेको बताउने  लामाले उखु गत असोज महिनादेखि र मेवा कात्तिक महिनादेखि उत्पादन लिन थालेको जानकारी दिए।  पाँच महिनाको अवधिमा उखु करिब डेढ लाख र मेवा ५० हजार रुपैयाँ भन्दा बढीको बिक्री गरिसकिएको उनको भनाइ थियो । चिसोका कारण अहिले बिक्री न्यून रहे पनि गर्मी बढ्न थालेपछि बिक्री राम्रो हुने अपेक्षा छ ।  
उक्त फार्ममा उत्पादन गरिएका उखु र मेवा जिल्लाको आँबुखैरेनी, डुम्रे, दमौली, दुलेगौडा र भिमाद बजारमा बिक्री हुँदै आएको छ । किसान लामाको व्यास नगरपालिका–३ अनशन चौतारीमा लामा फलफूल  तथा जुस पसल रहेकाले कतिपय उत्पादित सामान पसलबाट पनि बिक्री हुने गरेकाले व्यापार गर्न सहज भएको छ । 
सुरुमा दुई हजार बोट काली उखु र तीन सय बोट रेडलेडी नाउँको मेवाको बिरुवा लगाइएकामा अहिले दैनिक राम्रो आम्दानी दिन थालेको बताइएको छ । एक वर्षअघि लगाइएको उखु तीन वर्षसम्म र एकपटक लगाइएको मेवाले दुई वर्षसम्म निरन्तर आम्दानी दिइरहने लामाका बाबु जयबहादुरले जानकारी दिए। फार्ममा रहेका कामदारलाई काम गर्न सिकाउनाका साथै  आफू पनि दैनिक काम खट्ने गरेको उनले बताए । अहिले दैनिक चार कामदारले रोजगारी पाइरहेका छन् । बाबु जयबहादुरले भने, “फार्मको रेखदेखदेखि काम गर्नेसम्मका जनशक्ति राखिएको छ ।” 

दुई छोरामध्ये एउटा छोरा होटल र अर्का छोरा फलफूल तथा जुस पसल सञ्चालन गर्दै आएपछि फार्म आफ्नै नेतृत्वमा सञ्चालन गर्दै आएको उनले बताए । उखु प्रतिढकको रु ५० र मेवा प्रतिकिलो रु ८० मा बिक्री गर्ने गरिएको छ । उखु धादिङको नौबिसे र मेवा भारतबाट ल्याएर व्यावसायिक रुपमा खेती गरिएको हो । उक्त रेडलेडी नाउँको मेवाको बीउ एक किलोग्रामको रु एक लाखसम्म मूल्य पर्ने भएकाले महँगो रहेको जयबहादुरको भनाइ थियो । 

उखु जन्डिस रोगका लागि उपयुक्त हुने भएकाले त्यसलाई पेलेर करिब एक सय लिटर खुदो बनाएर राखिएको छ । लामाले भने, “खुदो प्रतिमाना रु ६०० मा बिक्री गर्ने गरिएको छ ।” फार्ममा उखु र मेवाको खेतीका साथै भैँसी कुखुरा र पानीहाँस पाल्ने कार्य पनि अघि बढाएको  बताइएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १३:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार