मुसहर बस्तीका बालबालिका जन्मदर्ताविहीन

शनिबार, फागुन ७, २०७८

जलेश्वर, ७ फागुन । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–३ खैरा गाउँमा रहेको मुसहर बस्तीका ८५ बालबालिका जन्मदर्ताविहीन छन् । गरिबी र विपन्नताले जडो गाडेर बसेको सो गाउँको दलित मुसहर बस्तीमा बसोबास गर्ने अधिकांश परिवारका ८५ बालबालिकाहरु जन्मदर्ताविहीन रहेको वडाध्यक्ष सञ्जयकुमार पाण्डेले बताए ।  सो बस्तीमा पुस्तौँदेखि बस्दै आएका अभिभावकहरुसँग नागरिकता नरहेका कारण बालबालिका पनि जन्मदर्ताविहीन रहेको उल्लेख गर्दै उनले बस्तीका धेरैजसो व्यक्तिको बाबु, बाजेकै नागरिकता नरहेको र कतिले आफैँ बनाउन नचाहेर प्रायः अभिभावक नै नागरिकताविहीन रहेको कारण बालबालिका पनि जन्मदर्ताविहीन रहनु परेको बताए । उनले आफू पटकपटक उनीहरुका लागि नागरिकता र जन्मदर्ता बनाउने प्रयास गरेको र अझै पनि आफू सो बस्तीका बासिन्दालाई नागरिकता र बालबालिकालाई जन्मदर्ता बनाउन प्रयासरत रहेको बताए । जिल्लाको सदरमुकाममै पर्ने खैराको मुसहर बस्तीका दर्जनौँ बालबालिका जन्मदर्ताविहीन हुँदा उनीहरु विभिन्न अधिकार र सुविधाबाट वञ्चित हुनु परेको छ । जन्मदर्ताको अभावमा सो बस्तीका बालबालिकाले नेपाल सरकारबाट प्राप्त हुने पोषणभत्ता, बालबालिकासँग सम्बन्धित अन्य सुविधा र निःशुल्क शिक्षाबाट समेत वञ्चित छन् ।
चरम गरिबीका कारण त्यस बस्तीका अभिभावकहरु पनि बालबालिकालाई आवश्यक जन्मदर्ता बनाउनदेखि सरकारी सुविधा प्राप्त गर्नेसम्म पनि खासै मतलब नराखेको र बिहान, बेलुका खानपानकै जोहोमा लाग्ने गरेको बस्तीकी वृद्ध महिला मरनी सदाले बताए । 
सोही बस्तीका वृद्ध बहादुर सदाले पनि बालबालिकाले के खाने, कसरी बाँच्ने कुराको व्यवस्थापनमै बस्तीका महिला, पुरुषहरुको दिनचर्या बित्ने गरेका कारण अरू कुनै कुरामा ध्यान पु¥याउन नसकिएको बताए । 
जिल्लाको मुटु (सदरमुकाम) मै दर्जनौँ बालबालिका जन्मदर्ताविहीन र अभिभावकहरु नागरिकताविहीन हुनु स्थानीय सरकार र जनप्रतिनिधिका लागि लज्जास्पद कुरा रहेको जलेश्वरका बुद्धिजीवीको ठहर छ । खैरा गाउँका मुसहर बालबालिका र तिनका अभिभावकलाई बस्तीमै गएर जन्मदर्ता र नागरिकता बनाइदिन सरोकारवालासँग उनीहरुले जोड्दार माग गरेका छन् । 
 

प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८  २१:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार