स्थानीय तह निर्वाचनका लागि १०६ दल  दर्ता, फागुन १५ गतेभित्र दर्ता गर्न सूचना प्रकाशित   

बिहीबार, फागुन ५, २०७८

काठमाडौं, ५ फागुन । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि १०६ वटा राजनीतिक दल दर्ता भएका छन् । पछिल्लो पटक जनता प्रगतिशील पार्टी, नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी निर्वाचन प्रयोजनका लागि दर्ता भएको निर्वाचन आयोगले जानकारी दिएको छ । 
आयोगमा यसअघि दर्ता कायम रहेका राजनीतिक दललाई पनि निर्वाचन प्रयोजनका लागि फागुन १५ गतेभित्र दर्ता गर्न आजै सूचना जारी गरेको छ । 
निर्वाचनमा जनशक्ति परिचालनको कार्यलाई सरल र सहज बनाउनका लागि आयोगले जनशक्ति (व्यवस्थापन) निर्देशिका,२०७८ स्वीकृत गरेको छ । 
उक्त निर्देशिकामा सम्बन्धित पालिका स्तरमा कार्यरत जनशक्तिलाई सोही पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा परिचालन गरी निर्वाचनलाई मितव्ययी बनाउन प्रयास गरिएको  छ । 
मतपत्र छपाइका लागि आवश्यक  पर्ने कागजको स्पेसिफिकेशन र लागत अनुमान स्वीकृत गरी इ–विडिङको माध्यमबाट खरिद प्रक्रिया अगाडि बढाइएको पनि आयोगले जानकारी दिएको छ ।
निर्वाचन आयोगले नियमित गर्ने ‘मिट ट प्रेस’ कार्यक्रममा आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलले मतदान केन्द्रमा प्रयोग हुने बिभिन्न ५३ प्रकारका निर्वाचन सामग्रीहरूको स्पेसिफिकेशन आयोगबाट स्वीकृत भएको जानकारी दिए । 
जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गर्ने प्रयोजनको लागि न्यायपरिषदसँग परामर्श गरी तथा न्याय सेवाका राजपत्रांकित अधिकृतहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गर्ने प्रयोजनको लागि न्याय सेवा आयोगसँग परामर्श गरी मिति २०७८ फागुन १५ गते सम्ममा आयोगमा नामावली उपलब्ध गराउन कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई अनुरोध गरिएको उनले जानकारी दिए । 
कानूनमा भएको व्यवस्था बमोजिम निर्वाचन अधिकृतमा नियुक्ति गर्न नेपाल प्रशासन सेवाका राजपत्राकिंत द्वितीय श्रेणीका अधिकृतहरुको नामावली पनि फागुन १५ गतेसम्म उपलब्ध गराई दिनसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग आयोगले अनुरोध गरेको छ । 
स्थानीय तह निर्वाचनका लागि आर्थिक कार्यविधि संचालन गर्न आयोगले स्थानीय तह निर्वाचन आर्थिक कार्यविधि,२०७८ तयार गरी सहमतिको लागि अर्थ मन्त्रालयमा पठाइसकेको छ । 
निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षा कार्यक्रमका लागि आयोगले उत्पादन गर्ने निर्वाचन गीति सन्देश, संवादमूलक सन्देश, लघु कथा आदि लेखनका लागि प्रतियोगितात्मक कार्यक्रम संचालन गर्न सूचना प्रकाशन गरेको पनि आयोगले जानकारी दिएको छ । 
निर्वाचनमा प्रचार हुने यस्ता सामग्रीहरुको तयारीमा सहभागिता जनाई निर्वाचनको काममा सहयोग गरिदिनुहुन आयोग सम्पूर्ण सृजनाकार एवम् श्रष्ठाहरुमा हार्दिक अनुरोध गर्दछ । उत्कृष्ट रचनाहरुलाई नगद पुरस्कार एवम् प्रमाणपत्रको पनि व्यवस्था गरिएको आयोगले बताएको छ । 
अर्थ मन्त्रालयसँगको सहकार्यमा आगामी स्थानीय तहको निर्वाचनमा अन्तर्राष्ट्रिय सहायताको प्राप्तिका सम्बन्धमा छलफल गर्न बुधबार विकास साझेदार समन्वय बैठक सम्पन्न भएको पनि आयोगले जानकारी दिएको छ । 
बैठकमा नेपालस्थित विभिन्न २० वटा कुटनीतिक नियोगहरु एवं विकास साझेदार संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति थियो । आयोगद्वारा पहिचान गरिएका मतदाता शिक्षा, सूचना प्रविधि, भौतिक सामग्री तथा विज्ञ परामर्श सेवा लगायतका सम्भावित सहायताका क्षेत्रहरुको बारेमा जानकारी गराइएको थियो । त्यस क्रममा केही विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले उक्त सहायताका क्षेत्रमा आयोगसँग सहकार्य गर्न तयार रहेको जानकारी गराएका थिए ।
२०७३ सालबाट मनाउन सुरु गरिएको निर्वाचन दिवस आयोगले यो पटक यही फागुन ६, ७ र ८ गते “निर्वाचनमा सबै, सँधै, सँगै” भन्ने नाराका साथ छैठौं निर्वाचन दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाउन लागिरहेको जानकारी दिँदै आयोगले छैठौं निर्वाचन दिवस, २०७८ का सन्दर्भमा आयोगले आयोजना गरेका कार्यक्रमहरुमा सहभागी भई निर्वाचन दिवसलाई भव्य रुपमा सम्पन्न गरिदिनसबै सरोकारवालाहरुसँग हार्दिक अनुरोध गरेको छ । 


 

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १६:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार