दुर्गम गाउँमा घरघरमा खानेपानी सुविधा 

बुधबार, फागुन ४, २०७८

रामपुर (पाल्पा), ४ फागुन । पाल्पाको पूर्वखोला गाउँपालिकाको ‘एक घर एक धारा’ अभियानअन्तर्गत घरघरमा खानेपानी पुगेको छ । घरदैलोमै खानेपानीको सुविधा पुगेपछि स्थानीयवासी खुसी भएका छन् गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले गाउँमा खानेपानी समस्याले गाउँ छाडेर अन्यत्र जाने क्रम पनि रोकिने बताए ।  गाउँपालिकाले पहिलो प्राथमिकता दिएर प्रदेश र संघीय सरकारको समन्वय र सहयोगमा एक घर एक धारा अभियानलाई सफल बनाउन जुटेको हो । उनले गाउँपालिकाभित्र ८० प्रतिशत घरधुरीमा निजी धारा जडान गरिएको बताए । सरकारी निकायसँगै गोर्खा वयलफेर ट्रस, खानेपानी सरसफाइ डिभिजन कार्यालय र  फनबोर्डले गाउँपालिकाको एक घर एक धारा अभियानामा सहयोग गर्दै आएका छन् । पालिकाको वडा नंं १ सिलुवामा १६०, वडा नं २ जल्पामा १४५ र ३ रिङ्नेरहमा चारवटा खानेपानी योजनाबाट २०२ परिवारले घरमै खानेपानीको सुविधा पाएका छन् ।  घरमै खानेपानीको सुविधा भएपछि गाउँमा तरकारी खेती बढेको छ । अहिले व्यावसायिकरूपमै फार्म दर्ता गरेर तरकारी खेतीमा लागेको उपभोक्ता टेकबहादुर बाह«घरेले बताए । अधिकांश मगर बस्ती रहेको वडा नं ४ देवीनगरमा १३० घरपरिवारले नयाँ धारा जोडेका छन् । घरमै धारा भएपछि सुखको दिन आएको, बालबालिकाले पढ्न समय पाएको, गाउँमै सहरबजारजस्तै सुविधा पाएको कुमारी घर्तीमगरको भनाइ छ । पूर्वखोला– ५ वीरकोटमा ९७ र वडा नं ६ हेक्लाङ्गमा १८० घरपरिवारमा नयाँ खानेपानी धारा जडान भएको जनाइएको छ । गाउँपालिकाले आउँदो असार मसान्तसम्ममा ९० प्रतिशत घरधुरीमा निजी धारा जडान गर्ने जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १९:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार