भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारमा झर्‍यो

शनिबार, माघ २९, २०७८

नयाँदिल्ली, २९ माघ । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या पचास हजारमा झरेको छ ।  केही दिन अगाडिसम्म दिनप्रति दिन दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै गएकोमा अहिले भने घटेको छ ।  सरकारी अधिकारीले शनिबार विहान दिएको जानकारीअनुसार भारतमा पछिल्लो एक दिनमा ५० हजार ४०७ सङ्क्रमित थपिएका छन् ।  सङ्घीय स्वास्थ्य मन्त्रालयले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या पनि दिनप्रति दिन घट्दै गइरहेको देखाएको छ ।  मन्त्रालयका अनुसार भारतमा अहिले छ लाख १० हजार ४४३ सङ्क्रमित अवस्थामै रहेका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो । भारतमा पछिल्लो एक दिनमा एक लाख ३६ हजार ९६२ लाई कोरोनाभाइरसको सङ्क्रमण निको भएको छ ।  अधिकारीका अनुसार भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड १४ लाख ६८ हजार १२० पुगेको छ । कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा ८०४ को मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको सङ्ख्या पाँच लाख सात हजार ९८१ रहेको छ ।– रासस/एएनआई
 

प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  २१:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार