सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, २९ माघ । कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भोलिदेखि सञ्चालन हुँदैछन् । कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी फागुन १ गतेदेखि राति १० बजेमा नबढ्ने गरी सञ्चालन हुन लागेका हुन् । सिसिएमसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी फागुन १ गतेदेखि सञ्चालन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्राललाई गत साता सिफारिस गरेको थियो । विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्थाका निम्ति गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिसिएमसीले सिफारिस गरेको थियो । त्यसैगरी खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कूल दर्शक क्षमताको ५० प्रतिशतमात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्न सिफारिस भएको छ ।
तातोपानी कुण्ड र शिक्षण संस्था खुल्ने कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर ओमिक्रोन सङ्क्रमणका कारण म्याग्दीमा बन्द रहेका सबै क्षेत्र फागुन १ गतेदेखि खुला गरिने भएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्दै आइतबारदेखि नियमित सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला कोभिड व्यवस्थापन समिति ९डिसिएमसी० ले जनाएको छ । शुक्रबार बसेको डिसिएमसीको बैठकले कोरोनाको जोखिम कायमै रहे पनि लामो समयसम्म बन्दलाई निरन्तरताभन्दा जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालनासहित खुल्ला गर्ने निर्णय गरिएको संयोजक एवम् प्रजिअ चिरञ्जीवी रानाले बताए । “कोरोनाको जोखिम अझै टरेको छैन्, सेवा सुचारु गरे पनि मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्छ”, प्रजिअ रानाले भने। जिल्लाभित्र खोपको पहुँचमै नपुगेका तथा दोस्रो र बुस्टर डोज नलगाएकालाई अनिवार्य खोप अभियानमा सहभागी हुनसमेत अपिल गरिएको छ । त्यस्तै समूहमा खेलिने खेलमा भने क्षमताको जम्मा २५ प्रतिशत मात्रै उपस्थितमा सञ्चालन गर्न पाइने भएको छ । खुल्ला गरिएको क्षेत्रका साथै सरकारी, वित्तीय तथा भीडभाड हुने होटेल, रेष्टुरेन्ट तथा सार्वजनिक क्षेत्रमा सेवा लिन भने सेवाग्राहीले अनिवार्य खोप लगाएको कार्ड देखाउनुपर्ने जनाइएको छ ।
तातोपानी कुण्डमा डुबेर उपचार सेवा लिन पाइने
यसैबीच बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक चिकित्सालय तातोपानी कुण्डमा स्वास्थ्य मापदण्ड पूरा गरेका र कोरोनाको खोप कार्ड भएका, ज्वरो, रुघाखोकी नभएकालाई कुण्डमा स्नान गर्न पाउने कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कुण्डमा नेपालका विभिन्न जिल्लाका साथै छिमेकी राष्ट्र भारतको सिक्किम राज्यबाट समेत नियमित आउने भएकाले जनस्वास्थ्यको पालनालाई अनिवार्य गरिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए । अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाट समेत रोग निको नभएकाले ३० हजारभन्दा बढी बिरामी वार्षिक रुपमा तातोपानीमा स्नान गर्न आउँछन् ।