सोसल मिडिया
Contact Us
युनिकोड
कोलम्बो । श्रीलङ्काले कोरोनाभाइरस सङ्क्रमण भई ज्यान गुमाएका मुसलमान समुदायका मानिसहरुको अन्त्येष्टि उनीहरूकै रीतिअनुसार पूर्ववत तरिकाले सम्पन्न गर्ने व्यवस्था मिलाइदिएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कोलम्बोसँग त्यहाँका अल्पसंख्यक मुस्लिम समुदायको अन्त्येष्टिको सम्मान गर्न आग्रह गरेपछि परिवर्तित व्यवस्था हटाइएको हो । श्रीलंका सरकारले गत वर्षको अप्रिलदेखि मुसलमान समुदायका शवलाई चिहानमा गाड्ने परम्परालाई निरन्तरता दिन रोक लगाएको थियो । करिब दुई करोड १० लाख जनसङ्ख्या रहेको दक्षिण एशियाली यस राष्ट्रमा झण्डै १० प्रतिशत जनसङ्ख्या मुसलमान समुदायको छ । स्वास्थ्यमन्त्री पवित्रा वान्नियारच्चीले लासलाई चिहानमा गाड्ने परम्परामाथि लगाइएको प्रतिबन्ध फुकुवा गरिएको पुष्टि गरेकी छन् । यद्यपि उनले प्रतिबन्ध फुकुवा गरिनुको कारण भने उल्लेख गरेका छैनन् । श्रीलङ्काली अधिकारीका अनुसार श्रीलङ्का भ्रमणमा आएका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले चिहानसम्बन्धी व्यवस्थालाई खुला गरिदिन श्रीलङ्काली राष्ट्रपति गोतावाय राजापाक्ष र प्रधानमन्त्री महिन्दा राजापाक्षलाई आग्रह गरेका थिए । खानको भ्रमणका क्रममा गरिएको एक जुलुसका दर्जनौं प्रदर्शनकारीहरूले श्रीलङ्काको सरकारले इस्लामिक दफन रीतिबारे बेवास्ता गरेको कुरालाई ध्यानाकर्षण गराएका थिए । महामारीबाट ज्यान गुमाएका अल्पसङ्ख्यक मुसलमान समुदायका नीतिबारे सुधारको कदमपछि प्रधानमन्त्री खानले उनका श्रीलङ्काली समकक्षीहरूलाई धन्यवाद दिएका छन् । ‘म श्रीलङ्काली सरकारको आधिकारिक अधिसूचनालाई स्वागत गर्दछु जसले कोभिड–१९ मा मर्नेहरूको लागि दफन विकल्पलाई अनुमति दिँदैछ’, खानले ट्वीटरमा लेखेका छन् । यो विषयलाई लिएर इस्लामिक समुदायबीचको सहकार्य को लागि ५७ मुलुक सदस्य रहेको संगठनले पनि यसै साता जेनेभामा संयुक्त राष्ट्र संघमा दाहसंस्कार नीतिमा लगाइएको प्रतिबन्धबारे कुरा उठाएको थियो । प्रभावशाली बौद्ध भिक्षुहरूले महामारीबाट ज्यान गुमाएका मानिसहरुको शव जमिनमा गाड्दा पृथ्वीभित्रको जललाई दूषित पार्न सक्ने तथा भाइरस फैलाउने भनाइ राखेपछि श्रीलंका सरकारले शव गाड्ने व्यवस्था हटाएको थियो । विज्ञहरुले बौद्ध भिक्षुहरुको यो भनाईलाई आधारहीन भन्दै आएका थिए ।–एएफपी