मान्ममा खानेपानी अभाव

बिहीबार, माघ २७, २०७८

मान्म, २७ माघ । कालीकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ मान्ममा खानेपानीको अभाव भएको छ । खानेपानीको उचित वितरण प्रणाली नहुँदा अभाव भएको हो । खानेपानी उपभोक्ता समितिले वितरण प्रणालीमा लापरवाही गरेका कारण पानी अभाव भएको स्थानीय रामबहादुर नेपालीले जानकारी दिए । “खानेपानीको उचित वितरण नहुँदा खानेपानीको बजारमा अभाव रहेको छ”, उनले भने । खानेपानीको अभाव हँुदा टाढाबाट बोकेर खानेपानीको जोहो गर्नुपरेको नेपालीले बताए । “ धारामा नियमित पानी नआएपछि सदरमुकाममा नै पिउने पानीको  अभाव भएको छ” ।

खानेपानी वितरणमा केही समस्या आएको र यसको चाँडै समस्या समाधान गरिने मान्म खानेपानी उपभोक्ता समितिका अध्यक्ष गणेशबहादुर शाहीले बताए। “विगत केही दिनदेखि वितरण प्रणालीमा समस्या आउँदा खानेपानीको अभाव भएको छ”, उहाँले भन्नुभयो, “खानेपानी नियमित बनाउन यसका निर्माण व्यवसायीलाई बोलाएर समस्या समाधान गरिनेछ ।”

टाढाबाट खानेपानी सदमुकाममा ल्याइएको र पाइपमा समस्या आउँदा पनि खानेपानीको अभाव रहने गरेको उपभोक्ता समितिका अध्यक्ष शाहीले जानकारी दिए। “हामी टाढाबाट खानेपानी ल्याएर सदरमुकाममा रहेको ट्याङकीमा खसालेर खानेपानीको वितरण गर्ने गरेका छौँ”, उनले भने, “कहिलेकाहीँ टाढाबाट ल्याइएका पाइपमा समस्या आउँदा पनि खानेपानीको अभाव हुने गरेको छ ।” त्यस्तै, नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल कालीकोटले सदरमुकामा भएको खानेपानी अभावलाई तत्काल समाधान गर्न आग्रह गरेको छ । रासस


 

प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  १३:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार