नागढुङ्गा सुरुङमार्ग समयमै सम्पन्न हुने

बुधबार, माघ २६, २०७८

काठमाडौँ, २६ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले नागढुङ्गा सुरुङ तोकिएकै समयमा सम्पन्न हुने विश्वास व्यक्त गरेकी छन् । आज निर्माणस्थलको अनुगमनपछि आयोजनाका कर्मचारी र निर्माण कम्पनीसँगको छलफलमा उनले अहिलेसम्मको निर्माण सन्तोषजनक रहेको उल्लेख गरिन् । सुरुङ निर्माणको गति र गुणस्तर दुवै राम्रो बनाउन निर्माण कम्पनीले मेहनत गरेको उनले उल्लेख गरे । 
सुरुङमा आउने कुनै पनि किसिमका समस्या समाधानका लागि आफू तयार रहेको उनले बताए । उनले भने, “आर्थिक वा अरु कुनै पनि किसिमको समस्या आउँदा समाधानका लागि लागिनेछ ।” सुरुङ निर्माण नेपालका लागि पनि सिकाइ भएको मन्त्री यादवको भनाइ थियो । यहाँबाट सिकेको अनुभवबाट अरु ठाउँमा पनि प्रयोग गर्नुपर्ने उनले बताए । 
नागढुङ्गा सुरुङ आयोजनाका प्रमुख नरेशमान शाक्यले अहिले पनि स्थानीयवासीलाई मुआब्जाका लागि दिन रकम अपुग भइरहेको बताए । विगतदेखि नै मुद्दामा रहेका पाँच घरको टुङ्गो नलागेकाले निर्माणमा बाधा पुगेको उनले बताए । 
आयोजनाको हालसम्म भौतिक प्रगति २९ दशमलव एक प्रतिशत र मोबिलाइजेसन पेश्कीसमेत आर्थिक प्रगति ४४ प्रतिशत रहेको आयोजनाले जनाएको छ । हालसम्म मुख्य सुरुङ निर्माण ३३ दशमलव दुई प्रतिशत र निष्कासन सुरुङ ५२ दशमलव नौ प्रतिशत सकिएको छ । मन्त्री यादवसँगै सचिव रवीन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक शिवहरि सापकोटलगायत निर्माणस्थल पुगेका थिए । उनीहरुले काठमाडौँ जिल्लातर्फ भइरहेको निर्माणको अवलोकन गरे । 

भीमदत्त राजमार्ग खुल्यो 

स्थानीयवासीको अवरुद्धका कारण बन्द रहेको अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग सञ्चालन भएको छ । उक्त राजमार्गअन्तर्गतको डोटीको जोरायल गाउँपालिका–१ गोगनपानीमा आज डडेल्धुराको आलिताल गाउँपालिका–१ भुसुका १६ वर्षीय बालक भानु नाथ मृत अवस्थामा फेला परेपछि उचित छानविनको माग गर्दै स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका थिए ।
गोगनपानी सडकमा बालक मृत अवस्थामा फेला परेपछि स्थानीयवासीले गरेको राजमार्ग अवरुद्ध अहिले सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए । उनका अनुसार बन्दकर्तासँग घटनाको निष्पक्ष छानविन गर्ने सहमति भएपछि राजमार्ग खुलाइएको हो । मृतकको शवपरीक्षणका लागि अस्पताल पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।
यही माघ २३ गते राति बिहेमा गएका नाथ आज घर फर्किने क्रममा गोगनपानी सडक नजिकै मृत अवस्थामा भेटिएका हुन् । राजमार्ग अवरुद्ध हुँदा त्यहाँ जाममा परेका सवारी साधन अहिले आफ्नो गन्तव्यतिर लागेका प्रहरीचौकी गैराले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  २२:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार