स्पेनी नरेश कोभिड सङ्क्रमित

बुधबार, माघ २६, २०७८

म्याड्रिड, २६ माघ । स्पेनका राजा फिलिप छैटौँलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्पेनी दरबार स्रोतले जानकारी गराएको छ । उनलाई कोभिड सङ्क्रमण पुष्टि भए पनि सामान्य लक्षणहरू मात्र महसुस भएको बुधबार बताइएको छ ।  सङ्क्रमणका हल्का लक्षणहरू देखिएपछि ५४ वर्षीय राजाले मङ्गलबार कोभिड सङ्क्रमण परीक्षण गराएका थिए । उनी एक हप्तासम्म अलग्गै बस्ने र यस अवधिमा आफ्नो आवासबाट ‘आफ्ना संस्थागत क्रियाकलापहरू’ गर्ने बताइएको छ ।  स्पेनी नरेशले बुधबार नै म्याड्रिडमा बोस्नियाली राष्ट्रपतिका क्रोएसियाली प्रतिनिधि जेल्ज्को कोमसिकसँग भेटवार्ता गरेका थिए ।  राजा फिलिपले २०२१ मे महिनामा कोभिड–१९ विरूद्धको पहिलो मात्रा खोप लगाएको दरबारका अधिकारीले बताएका छन् । एएफपीले उनले अन्य खोप लगाए वा लगाएनन् भन्ने बारे फोनमार्फत सोधिएको प्रश्नमा ती अधिकारीले थप खोपबारे कुरा गर्न चाहेनन् ।  नरेशलाई कोभिडको सङ्क्रमणपछि सामान्य लक्षण देखिए पनि रानी लेटिजिया र कान्छी छोरी सोफियामा भने लक्षणहरू देखिएका छैनन् । उनीहरूले  सामान्य रूपमा आफ्ना क्रियाकलापलाई जारी राख्नेछन् । उनीहरूकी जेठी छोरी लियोनरले भने वेल्सस्थित एक आवासीय विद्यालयमा पढिरहेका छन् ।  कोभिड–१९ सङ्क्रमण दर घटेको र अस्पतालहरूमा कोभिड सङ्क्रमित बिरामीको चाप कम भएपछि स्पेनले बिहीबारदेखि घरबाहिर हिँड्दा अनुहारमा मास्क लगाउनुपर्ने नियमलाई अन्त्य गर्दैछ । यो उपायले अत्यधिक सङ्क्रामक ओमिक्रोन भेरिएन्टद्वारा उत्प्रेरित सङ्क्रमणहरूको वृद्धिबीच गत डिसेम्बरमा लिएको कोभिड नियन्त्रणको नियमलाई अन्त्य गर्नेछ । स्पेनमा सार्वजनिक यातायात लगायतका भित्री सार्वजनिक स्थलसमेतमा मास्क प्रयोग गर्नु अनिवार्य गरिएको छ ।  अहिलेसम्म स्पेनमा एक करोड चार लाखभन्दा बढी सङ्क्रमित भएका र ९५ हजारको मृत्यु भइसकेको छ ।– रासस/एएफपी
 

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  २२:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार