सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुरधाम, २६ माघ । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले सप्तरीको बोदे बसाइन नगरपालिका–१ धनगढीकी राजकुमारी साहको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई न्याय दिलाउन आयोगले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । गत शुक्रबार पेट्रोल छर्केर २७ वर्षीय राजकुमारी साहको हत्या भएको घटनाबारे बुझ्न घटनास्थल पुग्नुभएका आयोगका अध्यक्ष पराजुलीले पीडित परिवारसँगको कुराकानीका क्रममा सो कुरा बताएकी हुन् । दोषीलाई कानुनी दायरामा ल्याएर पीडित परिवारलाई न्याय दिलाउन आयोगले सक्दो सहयोग गर्ने बताउँदै उहाँले पेट्रोल छर्केर हत्या गर्ने अपराधीलाई छिटोभन्दा छिटो पक्राउ गरी कानुनी दायरामा ल्याउन सरकार र स्थानीय प्रशासनसँग आग्रह समेत गरिन् । घटनाबारे आयोगले सत्यतथ्य अध्ययन गरिरहेकोसमेत उनले जानकारी दिइन् । गत शुक्रबार बिहान घरमा खाना पकाइरहेको अवस्थामा आफ्नै देवर परमेश्वर साहले राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएको उनका पति रवीनकुमार साहले बताए । जलेर घाइते भएकी राजकुमारीको उपचारका क्रममा शनिबार राति विराटनगरमा मृत्यु भएको थियो । घटना लगत्तै राजकुमारीको देवर परमेश्वर फरार रहेको प्रहरीले जनाएको छ । सो घटना बाहिरिएपछि राष्ट्रिय महिला आयोगको टोली घटनास्थलको निरीक्षण र पीडित परिवारसँग बुझ्न आइपुगेको हो । यसैबीच आमाको मृत्यु भएपछि राजकुमारीका ८ वर्षीय छोरा जीतेन्द्रकुमार साह किरिया बसेका छन् ।