रानीपोखरीस्थित बालगोपालेश्वरमा भाइटिका लगाउनेको ताँती 

सोमबार, मंसिर १, २०७७

काठमाडौँ । यसै वर्ष पुनर्निर्माण सकिएको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटिका लगाइएको छ । कोरोना महामारीको त्रासका बीच खुलेको मन्दिरमा टिका लगाउन जाने दाजुभाइ तथा दिदीबिहनीहरुले सुरक्षा मापदण्ड भने अपनाएका थिए ।
टिका लगाउनेले मास्क तथा लगाइदिनेले फेससिल्डसमेत लगाएका छन् । २०७२ सालको भूकम्पले मन्दिर भत्काएपछि केही वर्ष यहाँ टिका लगाउन रोकिएको थियो । तिहारको भाइटिकामा मात्रै खुल्ने यो मन्दिरमा आफ्ना दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले टिका लगाउने गर्छन् । फरक समुदायअनुसार मंसिर १ र २ गते दुई दिन भाइटीका लगाउने भएकाले भोलि २ गते पनि मन्दिर खुला हुनेछ ।
दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गर्ने प्रचलन छ । यसपटक पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माणपछि पहिलोपटक मन्दिर खुला गरिएको हो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्छ । दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् । यसैगरी जयबागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ । विसं २०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । 

नेपाल संवत् ११४१ मनाइँदै
कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्याेदय भएका दिन मनाइने नेपाल संवत्अनुसारको नयाँ वर्ष आज मनाइँदै छ । नेसं ११४१ का अवसरमा आज देशभर विविध कार्यक्रम गरिएको छ । यस वर्ष कोरोना महामारीका कारण भीडभाड हुने कार्यक्रम भने आयोजना गरिएको छैन । राष्ट्रिय विभूति शंखधर साख्वाले गरिब जनताको ऋणमोचन गरी नेसंको सुरुआत गराएका हुन् । नेसंले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा.त्रिरत्न मानन्धरले जानकारी दिए ।
‘लिच्छविकालका राजा राघवदेवको शासनकालदेखि सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’, उनले भने ।विसं २००७ मा प्रजातन्त्र स्थापनादेखि नै नेसंलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेसंले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कार्तिक कृष्ण औँसीका दिन बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परासमेत काठमाडौँमा अझै छ ।
 
 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०७७  १४:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार