ग्रामीण क्षेत्रलाई लक्षित गरी अस्पताल निर्माण हुँदै

सोमबार, माघ १७, २०७८

चरीकोट, १७ माघ । दोलखाको दक्षिणी क्षेत्र तामाकोशी गाउँपालिकाका नागरिकलाई लक्षित गरी रु १५ करोडको लगानीमा अस्पतालन निर्माण हुने भएको छ । तामाकोशी–४ जामुनेमा सङ्घीय सरकार र स्थानीय सरकारको करिब रु १५ करोडको लगानीमा अस्पताल निर्माण हुन लागेको हो । गाउँपालिकाको सबै वडालाई लक्षित गरी अस्पताल सञ्चालन गर्न लागिएको र अस्पताल निर्माणपश्चात् पालिकाको मात्र नभई छिमेकी पालिकाका केही वडाका नागरिकले समेत सहजरूपमा स्वास्थ्य सेवा पाउने गाउँपालिका प्रमुख ईश्वरचन्द्र पोखरेलले बताए । 
सङ्घीय सरकरको रु १५ करोडको लगानी रहने उक्त अस्पताल तत्काल १० शय्याको सञ्चालनमा आउने भएको छ । गाउँमै दक्ष चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गर्नेछ । अस्पताल निर्मााणका लागि बोलपत्रमार्फत निर्माण कम्पनीलाई निर्माणको जिम्मा लगाई सकिएको छ । 
गाउँमै सुुविधा सम्पन्न अस्पताल निर्माण हुने भएपछि अस्पताल निर्माणका लागि तामाकोशी–४ मालुका नागरिकले करिब नौ रोपनी जग्गा अस्पताललाई निःशुल्क दान गरेका छन् । मालुका स्थानीयवासी परशुराम पोखरेल, राजन पोखरेल, पदमबहादुर खत्री, थीरकुमारी पोेखरेल तथा जनार्दन पोखरेलले अस्पताल निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेको वडा नं ४ का वडाअध्यक्ष होमबहादुर श्रेष्ठले बताए ।
सामान्य बिरामी हुँदासमेत औषधि उपचारका लागि सदरमुकाम चरीकोट धाउनुपर्ने बाध्यता रहेको र गाउँमै अस्पताल निर्माण हुने भएपछि आफूहरूले अस्पतालको नाममा जग्गा दान गरेको र उक्त दान गरेको जग्गामा अस्पताल निर्माण गरी नागरिकको सेवा गरेको र स्वास्थ्य सेवा लिएको हेर्ने इच्छा रहेको स्थानीयवासीले बताएका छन् । 
गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर स्वास्थ्य क्षेत्रमा विभिन्न काम सञ्चालन गर्दै आएको छ । आफू निर्वाचित भएर आएदेखि पालिकाको स्रोत र साधनले भ्याएसम्म परिचालन गरी घर दैलोमै नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आएको र अस्पताल निर्माणपश्चात् थप सहयोग पुग्ने पालिका अध्यक्ष पोखरेलले बताए ।
पालिकाले हाल पालिकाभित्रका मधुमेह, रक्तचाप तथा दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ । नेपाल सरकारले तोकेका गम्भीर प्रकृतिका रोग लागेका रोगीलाई केन्द्र सरकारले दिने उपचार खर्चबाहेक पालिकाले थप रु २० हजार सहयोग प्रदान गर्ने गरेको छ भने बिरामीलाई जिल्लाबाहिर लैजाँदा एम्बुलेन्समा ३३ प्रतिशत छुट गराउने गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा हाल सबै सात वडामा स्वास्थ्यचौकी सञ्चालनमा रहेका छन् भने सबै ठाउँमा २४ घण्टे बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् । स्वास्थ्यचौकी पायक नपर्ने पाँच स्थानमा पालिकाले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  २२:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार