अभिभावकविहीन बालबालिकालाई सामाजिक सुरक्षा भत्ता

सोमबार, फागुन १०, २०७७

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले नगरपालिकाभित्र रहेका विभिन्न कारणले आमाबुबा गुमाएका १८ वर्षभन्दा मुनिका बालबालिकालाई ‘आमाबुबाविहीन बालबालिकाको संरक्षण कार्यक्रम’ अन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । बनेपा नगरपालिका र वाग्मती प्रदेश सरकारको संयुक्त आयोजनामा आमाबुबाविहीन १२ बालबालिकालाई भत्ता वितरण गरिएको हो । बनेपा नगर प्रमुख लक्ष्मी नरसिंह बादेले वाग्मती प्रदेशबाट प्राप्त दुई हजार रुपैयाँमा नगरपालिकाको तर्फबाट एक हजार रुपैयाँ थप गरी मासिक तीन हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताए । अहिले वितरण गरेको रकम देख्दा थोरै देखिए पनि एक पैसा पनि नभएको भन्दा यसले धेरै भएको बताउँदै उनले त्यसबाट खर्च गर्न सहयोग पुग्ने उल्लेख गरे ।  कार्यक्रममा वाग्मती प्रदेश नीति तथा योजना आयोग सदस्य यमुना कँडेलले बालबालिकाको संरक्षण कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण शुरुआत भएको बताए ।  प्रदेशभित्रका अरु पालिकामा पनि यस्तै बालबालिका कति छन् भन्ने तथ्याङ्क नहुँदा कार्यक्रम सञ्चालन गर्न अप्ठ्यारो परिरहेको उनले बताए । कार्यक्रममा आमाबुबाविहीन बालक विजय खत्रीका संरक्षक (ठूलोबुबा) गोवद्र्धन खत्रीले नगरपालिकाले वितरण गरेको सामाजिक सुरक्षा भत्ता ढिला भएको बताए । जनप्रतिनिधि आएर लामो समय बितिसकेको अवस्थामा अहिले आएर मात्रै वितरण गर्नु ढिला भएको उनको भनाइ छ ।  सो क्रममा १८ वर्षभन्दामुनिका नगरपालिकाको वडा नं २ बाट तीन, वडा नं ३ बाट दुई, वडा नं ६ बाट एक, वडा नं १० बाट दुई, वडा नं ११ बाट दुई र वडा नं १३ बाट दुई गरी १२ जनालाई जनही रु आठ हजारका दरले रकम वितरण गरेको थियो ।–रासस
 

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १८:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार