सोसल मिडिया
Contact Us
युनिकोड
चितवन । राप्ती समीटारका वीरबहादुर प्रजा १४ वर्ष ४ महिना जेलजीवन बिताएर हालै मुक्त भएका हुन् । उनी अहिले बेरोजगार छन् । गैँडा चोरी शिकारीको अभियोगमा राप्ती नगरपालिका १० र कालिका नगरपालिकाको बाँसघारी, चिप्लेटी, कालीखोला र समीटारका मात्रै ७४ जना गैँडा चोरी शिकारको अभियोगमा जेलमा परेको तथ्याङ्क छ । तीमध्ये अधिकांश सजाय भुक्तान गरेर छुटिसकेका छन् । त्यसरी जेलबाट छुटेकाहरू पुनः चोरी शिकारीमा नलागून् भनेर चितवन राष्ट्रिय निकुञ्जले अघिल्लो साता उनीहरूसँग अन्तरसम्वाद कार्यक्रम गरेको थियो । त्यसमा सहभागी १५ जनाले आफ्ना लागि सीपको व्यवस्था वा रोजगारीको व्यवस्था भए आफूहरू संरक्षणमा लाग्ने बताए । प्रजाले भने, ‘निकुञ्जले हाम्रा लागि केही गरी खाने वातावरण बनाउन पहल गर्न लागेको थाहा पाएर धेरै खुशी छु ।’
विगतलाई फर्केर हेर्न चाहन्न प्रजा भन्छन्, ‘विगतमा जानी नजानी जे गरियो सजाय भोगियो । अब त्यो कुरा बिर्सेर हामी समाजमा केही गर्न चाहन्छौँ ।’ निकुञ्जको उत्तरी क्षेत्रमा रहेका अति विपन्न तथा सीमान्तकृत समुदायमा गरिबी र अशिक्षा छ । उनीहरू अधिकांश बेरोजगार छन् । उनीहरूका लागि आयआर्जन हुनसक्ने गरी सीप या रोजगारमूलक तालिम र रोजगारीको व्यवस्था गर्न सके युवाहरू गैरकानुनी काम नलाग्ने र संरक्षणमा पनि सहयोग पुग्ने भुक्तभोगीको ठम्याइ छ । उक्त क्षेत्रमा ठूलो संख्यामा गैँडा चोरी शिकारीको अभियोगमा लामो समय जेल परेर छुटेकाहरू रहेको र आफूहरूलाई जीविकोपार्जनको वातावरण निकुञ्जले बनाइदिए आफुहरूले गैँडा संरक्षणमा सहयोग गर्ने उनीहरू बताउँछन् । लामो समय जेलमा बस्नु पर्दा आफ्नो परिवारको आर्थिक स्थिति झन् कमजोर हुन पुगेको उनीहरू बताउँछन् ।
‘संरक्षणमा सहयोग गर्छौँ’
चितवनको विकट पहाडी क्षेत्रमा रहेका र गैँडा चोरी शिकारको अभियोगमा लामो समय जेलजीवन बिताएकाहरूले जीविकोपार्जनको लागि व्यवस्था भएको खण्डमा गैँडा संरक्षणको कार्यक्रममा सहभागी हुने १३ वर्ष जेलमा बिताएका चितवन राप्ती नगरपालिका १० चिप्लेटीका जीतबहादुर तामाङले बताए । लामो जेलमा बस्दा आफ्नो आर्थिक अवस्था कमजोर हुँदा गरी खान समेत समस्या भएको र गरी खाने व्यवस्था मिलाइदिए आफूहरू समूहगत रूपमा नै विगतका कुरा बिर्सेर संरक्षणको लागि जनचेतनामूलक कार्यहरूमा लाग्ने उनले बताए । उनी भन्छन्, ‘गाउँमा अझ पनि धेरै युवाहरू अशिक्षित छन् । बेरोजगार रहेका छन् उनीहरूलाई जो कोहीले सहजै प्रयोग गर्न सक्छन् ।’ ती युवाहरूलाई आफुहरूले भोगेको कुरा बुझाउनुका साथै गैरकानुनी काममा लाग्न नदिन अभियान सञ्चालन गर्ने तामाङले बताए । गरीबी, अशिक्षा, बेरोजगार र भोकका कारण नै युवाहरू गैरकानुनी काम लाग्न बाध्य हुने गरेको उनको बुझाइ छ । सबैका अवस्था कमजोर राष्ट्रिय प्रकृति संरक्षण कोषले केही समयअगाडि गरेको सर्वेक्षणले गैँडा चोरी शिकारीको अभियोगमा जेल सजाय भोगर गाउँमा फर्किएकाहरूको अधिकांश परिवार अति विपन्न, गरिब, अशिक्षित र आयआर्जनको कुनै श्रोत नभएको पाइएको कोषका प्रमुख डा. बाबुराम लामिछानेले बताए । ‘गैँडा संरक्षणको लागि ती समुदायको जीविकोपार्जनका लागि पहल नगर्ने हो भने पुनः बाटो बिराउन सक्ने’ भएका कारण उनीहरूलाई लक्षित गरेर कार्यक्रम बनाउन आवश्यक रहेको उनले बताए । चितवन राष्ट्रिय निकुञ्जका वार्डेन अणनाथ बरालले उनीहरूको अवस्था बुझ्न अन्तरसम्वाद गरिएको बताउँछन् । उनले भने, ‘उनीहरूको मनसाय बुझेर निकुञ्जले के गर्न सक्छ त्यसको आधारमा उनीहरूको लागि कार्यक्रमको योजना तयार गरिने छ ।’ –बीबीसी