झापाका सीमा क्षेत्रमा पाँच बिओपी स्थापना 

संरचना निर्माणमा नगरबाट सहयोग हुने
सोमबार, फागुन १०, २०७७

झापा। सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न र सीमा सुरक्षालाई बलियो बनाउने उद्देश्यले झापामा आइतबार एकै दिन पाँचवटा सशस्त्र प्रहरीको बोडर आउट पोस्ट (बिओपी) उद्घाटन गरिएको छ ।  पाँचवटै बिओपीको मेचीनगर नगरपालिका–५ स्थित नकबलबन्दामा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र सशस्त्र प्रहरी बल नं १ बराहवाहिनी पकलीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहालले संयुक्तरूपमा उद्घाटन गरेका हुन् । 
मेचीनगर—१ स्थित तिरिङ, भद्रपुर–३ स्थित महेशपुर, झापा गाउँपालिकाको पन्थापाडा र गौरीगञ्जको आमगाछीमा स्थापना गरिएका बिओपीको एकै ठाउँबाट उद्घाटन गरिएको हो । यीसँगै जिल्लामा बिओपीको सङ्ख्या १७ पुगेको छ । एउटा बिओपीमा प्रहरी निरीक्षकको कमान्डमा २५ जना सुरक्षाकर्मी रहने व्यवस्था मिलाइएको प्रहरी नायब महानिरीक्षक दाहालले बताए । यसअघि झापाको बाहुनडाँगी, काँकरभिट्टा, ज्यामिरगढी, पाठामारी, केचना, भागडुब्बा, टाघनडुब्बा, गौैरीगञ्ज, घेरावारी कुञ्जिवारी  भद्रपुर  र पृथ्वीनगर गरी कूल १२ वटा सशस्त्र प्रहरीको बिओपी स्थापना गरी सकिएको छ ।  उनले सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि न्यूनीकरणका लागि जिल्लामा चार किलोमिटरको अन्तरमा ३७ वटा बिओपी स्थापना गर्ने सरकारको लक्ष्यअनुसार १७ वटा भइसकेको र बाँकी २० वटा निर्माणका लागि जग्गाको पहिचान भइसकेको जानकारी दिए । नगरप्रमुख आचार्य र उपप्रमुख मीना उप्रेतीले चौकी स्थापना भएसँगै सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण, सीमाको सुरक्षा र अवैध चोरी तस्करी नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले बिओपीमा आवश्यक पर्ने भौतिक तथा अन्य संरचना निर्माणमा नगरले आर्थिक सहयोग गर्ने बताए ।  झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले झापाकोे १४४ दशमलव दुई किलोमिटर क्षेत्रफलमा भारतसँगको खुला सीमा रहेकाले हातहतियार, लागुऔषध, मानव बेचबिखनलगायत आपराधिक गतिविधि न्यूनीकरण हुने, सीमाको उचित रेखदेख  र राष्ट्रिय सुरक्षालाई मजबुत पार्ने काममा बिओपीहरूको महत्वपूर्ण योगदान रहने बताए । सीमा सुरक्षालाई ध्यानमा राखी संघीय सरकारले २०७६ मङ्सिर ३० गते नै देशभरिमा ११४ वटा बिओपी थप्ने निर्णय गरेको थियो । सोहीअनुरुप नै जिल्लामा कार्य भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेटक्वार्टर चन्द्रगढीका सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  ०६:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार