मुग्लिन–पोखरा सडक विस्तारको पश्चिम खण्डमा काम अघि बढ्यो

सोमबार, माघ ३, २०७८

कास्की, ३ माघ । पर्यटकीय सहर पोखरालाई राजधानी काठमाडौँसँग जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नति गर्ने योजनाको प्रारम्भिक काम रुख कटानबाट अघि बढेको छ । एशियाली विकास बैंक (एडीबी) को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी चार लेनको फराकिलो र स्तरीय बनाउनका लागि मुग्लिन–पोखरा सडक योजनाले काम अघि बढाएको हो । पोखरा–मुग्लिन सडकखण्ड विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरेर काम अघि बढाइएको छ । पोखराको पृथ्वीचोकस्थित सेती नदी पुलदेखि तनहुँको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्दछ । सो खण्ड हेर्ने गरी पोखरामा मुग्लिन–पोखरा सडक योजनाकोे कार्यालय स्थापना गरिएको छ । 

    यसैगरी जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी सडक पूर्वी खण्डमा पर्दछ । यसको कार्यालय हाल गुणादीमा रहेको छ । योजनाको पश्चिम खण्डमा अहिले लगत लिएर बोट बिरुवा कटानको काम सुरु भएको सो खण्डका योजना प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार योजना क्षेत्रमा पर्ने रुख कटानका लागि विभागीय स्वीकृतिपछि हाल कटानको काम धमाधम भइरहेको छ ।

    जामुनेदेखि यताको क्षेत्रमा तीन हजार १६३ रुख कटान गर्नुपर्नेमा हालसम्म एक हजार ८०० वटा कटान गरिएको छ । सेतीनदी पुलदेखि कोत्रेसम्म एक हजार २७१ रुख काट्ने योजना छ । यस क्षेत्रमा स्वीकृत प्राप्त भएकाले केही दिनमै कटान सुरु गरिने योजना प्रमुख श्रेष्ठले जानकारी दिए ।

    

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  ११:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार