मृत्युको १७ औं दिनमा भागरथीको अन्तिम संस्कार गर्न परिवारले बुझ्यो शव 

शुक्रबार, फागुन ७, २०७७

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गर्न परिवारले शव बुझेको छ । यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै आएको थियो । प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म भागरथीको हत्या मात्रै गरेको बताएका थिए तर शव परीक्षण रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको थियो । त्यसपछि पनि भागरथीका घरपरिवारले भने बलात्कार गर्ने व्यक्तिको पनि खोजी गर्नुपर्ने भन्दै बिहीबारसम्म शव बुझ्न मानेको थिएन ।  बिहीबार दिनेशका बुवा, अनुसन्धान अधिकृत र सरकारी वकिल सामु गर्न लगाएको बयानमा दिनेशले आफूले नै बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए । बलात्कार र हत्या आफैँले गरेको दिनेशले स्वीकार गरिसकेपछि भागरथीका घरपरिवारले शव बुझ्न मानेको  हो । जिल्ला अस्पतालमा रहेको शवलाई बिहान १० बजे परिवारले बुझेको जानकारी बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दिए । गोठलापानीबाट बिहान ११ बजे शवयात्रा शुरु भएको भागरथीका काका शिवराज भट्टले बताए । गोठलापानीबाट सेरासम्म शवयात्रा हुने र सेरास्थित महाकाली आर्यघाटमा अन्तिम संस्कार र्गाे कार्यक्रम छ । गत माघ २१ गते विद्यालयबाट घर जान हिडेँकी भागरथीको साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो ।  

कुनै पनि अपराधको राजनीतिकरण गर्नु हुँदैन : नेता साउद

नेपाली कांग्रेसका नेता तथा पार्टीका केन्द्रीय सदस्य एनपी साउदले कुनै पनि अपराधको राजनीतिकरण गर्न नहुने बताएका छन् । नेपाल प्रेस युनियन बैतडीले बिहीबार पाटनमा गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहेका नेता साउदले भागरथी भट्टको बलात्कारपछि हत्या भएपछि सार्वजनिक गरिएका अभियुक्तमाथि राम्रोसँग छानबिन गर्नुपर्ने बताए । उनले भने, ‘नेपाली कांग्रेस कुनै पनि अपराधको राजनीतिकरण गर्न चाहन्न, तर कसैले पनि अपराधलाई राजनीतिकरण गरेर उन्मुक्ति गर्ने प्रयास गर्नुहुन्न ।’
सार्वजनिक गरिएका अभियुक्तमाथि राम्रोसँग अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै उनले दोषीले उन्मुक्ति पाउन नहुने र निर्दोषलाई फसाउन नहुनेमा जोड दिए । उनले भने, ‘भागरथीको नियति पनि निर्मला पन्तकै जस्तो नहोस् भन्ने कुरामा नेपाली कांग्रेस गम्भीर छ, यसमा कुनै दाषी मान्छे नउम्कियोस्, निर्दोषले जेल जान नपरोस्, यतातिर सजग भएर प्रशासनले कदम चाल्नुुपर्छ ।’ – 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  १५:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार