मंगल ग्रह : अमेरिकी अन्तरिक्ष यान पर्सिभिअरन्स अवतरण

शुक्रबार, फागुन ७, २०७७

न्युयोर्क । अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिनापछि मंगल ग्रहको सतहमा अवतरण गरेको । नेपाली समयानुसार शुक्रबार बिहान करिब २ः४० बजे पर्सिभिअरन्स रोभरले मंगल ग्रहको सतहमा अवतरण गरेको हो । सफल अवतरणसँगै क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरूले हर्षाेल्लास मनाएका थिए । ‘हामीले ग¥यौँ । हामी त्यहाँ पुग्यौं’ उनीहरू खुसी हुँदै चिच्याइरहेका थिए । त्यसको केही समयमै रोभरले कैद गरेको तस्बिर सार्वजनिक गरिएको थियो । सर्फेस मिसन म्यानेजर जेसीका स्याम्युएल्सका अनुसार अब पर्सिभिअरन्सका सबै कुरा सञ्चालन गर्न सकिने अवस्थामा छ–छैन भनेर हेरिने छ । उक्त रोभरले रातभर आफ्नो ब्याट्री चार्ज गर्ने छ । उचित वातवारण पाए जीवन ब्युँतिन्छ कि भन्ने प्रश्नको जवाफ खोजिनेछ । यो सन् १९७० को दशकको भाइकीङ मिसन पछि मंगल ग्रहमा जीवनको सम्भावना बारे अध्ययन गर्ने नासाको सबैभन्दा महत्वाकांक्षी परियोजना हो । एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ ।  छ वटा पाङग्रा भएको उक्त रोभर सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मंगल ग्रहनजिक पुगेको हो । मंगल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नुलाई यो मिशनको सबैभन्दा कठिन चुनौतीका रूपमा हेरिएको थियो । पर्सिभिअरन्समा राखिएको इन्जेन्युइटी नाम दिइएको हेलिकप्टरलाई भोलिबाट चलाइने वरिष्ठ वैज्ञानिक तथा हेलिकप्टर परियोजनाकी संयोजक मीमी अङ्गले बताइन । आगामी ३० दिनमा पाँच वटा उडान भर्ने मिशन तय गरिएको र त्यसले सम्भवतः मंगल ग्रहको सतहको उच्च गुणस्तरको तस्बिर उपलब्ध गराउने ठानिएको छ । एउटा ग्रहमा बसेर अर्काेमा उडान गरिने यो पहिलो फ्लाइट हो । अर्बौं वर्ष अघि मंगल ग्रहको जेजेरो भनिने स्थानमा एउटा ताल रहेको र त्यसले जीवहरूलाई बाँच्न सहयोग गरेको हुन सक्ने ठानिएको छ । पर्सिभिअरन्स रोभर जेजेरो क्रेटरमा नै अवतरण गरेको हो । हालसम्म मंगल ग्रहमा १४ मिशनले अवतरण गर्ने प्रयास गरेकोमा आठ प्रयास सफल भएका छन् । ती सबै अमेरिकी अभियान हुन् । अमेरिकी प्रयास एकपटक मात्रै सन् १९९९ मा विफल भएको छ ।–बीबीसी 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  ०८:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार