लकडाउनले जुराएको व्यावसायिक कालिजपालन

सोमबार, पुस १९, २०७८
डिस होम विज्ञापन
Global Ime Bank

तनहुँ, १९ पुस । लकडाउनको समस्यामा परेका तनहुँका एक युवक गाउँमा फर्किएर व्यावसायिक रुपमा कालिज पाल्न थालेका छन् । 
बन्दिपुर गाउँपालिका–४ लोहीपाखा निवासी सुनिलकुमार श्रेष्ठले गत वैशाख महिनादेखि कालिजपालन गरेका हुन् । आवश्यक भौतिक संरचना निर्माणलगायतका गरी करिब डेढ करोड लगानीमा श्रेष्ठले कालिज पाल्न थालेका हुन् । काठमाडौँमा बेकरी पसल सञ्चालन गरेका श्रेष्ठले कोरोनाको सङ्क्रमण फैलिएपछि लगाइएको निषेधाज्ञाले बाँच्न गाह्रो बनाएपछि गाउँ फर्किएर कृष्णको ज्ञान एकीकृत कृषि फार्म दर्ता गरी व्यवसाय सुरुआत गरेका हुन् । गाउँमा रहेको करिब नौ रोपनी बाँझो जग्गामा पोखराबाट प्रति चल्ला रु आठ सयका दरले खरिद गरी दुई हजार चल्ला व्यवसाय सुरुआत गरेका श्रेष्ठले अहिले धमाधम बिक्री गर्न थालेका छन् । 
साना चल्ला हुँदा जोगाउँन कठिनाई भयो । केही चल्ला मरेको पनि उनले सुनाए । “केही बिक्री गरेर पनि अझै एक हजार ४०० कालिज फार्ममा रहेका छन्” उनले भने, ‘भाले बिक्री गरे पनि पोथी अण्डाको लागि राख्नेको छु ।’ अहिले फार्ममा एक दिने चल्लादेखि एक महिनासम्मका कालिजको चल्ला रहेको छ । प्रति चल्ला रु ४०० देखि ५०० सम्म बिक्री हुन्छ । 
कालिज पाल्ने किसानको लागि आवश्यक तालिमको पनि व्यवस्था रहेको श्रेष्ठले बताए। बस्ने घर, कम्पाउण्ड तारबार र फार्मसम्म जाने सडक निर्माणलगायतका भौतिक संरचना निर्माण गर्दा करिब रु डेढ करोड लगानी भएको श्रेष्ठ बताउँछन् । करिब डेढ किलोको कालिज प्रति गोटा रु तीन हजारमा बिक्री गर्ने गरिएको छ । 
उनले भने, “कसैले भालेपोथी लैजाने चाहेमा रु सात हजारमा बिक्री गर्ने गरिएको छ ।” पालेको ६ महिनामा कालिज खान योग्य हुन्छ । फार्ममै कालिजको मासु, परिकार, खाना र खाजाकोसमेत व्यवस्था मिलाइएको छ ।  कालिज स्थानीयस्तरमै खपत हुने गरेकोले बिक्रीको कुनै समस्या नभएको श्रेष्ठ बताउँछन् । जिल्लाको आँबुखैरेनी, डुम्रे, बन्दिपुर र छिमेकी जिल्ला गोरखामा बिक्री हुर्दै आएको उनले बताए । कालिज फार्म सुरु गरेदेखि घरका बुबाआमा, श्रीमती र आफू गरी सबै जनाले रोजगारी पाएको उनी बताउछन् । 
लकडाउनका कारण जीवन धान्न धौधौ भएपछि गाउँ फर्किएको बताउँदै श्रेष्ठले गाउँमा बाँझो रहेको जमिनमा कोही गरौं भन्ने सोचका साथ कालिजपालनमा लागेको जानकारी दिए । सुरुको दुई महिनाजति खोरमा राखेर पाल्ने र त्यसपछि खुला चौरमा छाडेर पाल्ने गरिएको छ । कालिजको मासु वृद्वबवद्वा, बालबालिका, गर्भवती, सुत्केरीलगायत जुनसुकै बिरामीले पनि खानयोग्य मानिन्छ ।–रासस 

प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  १३:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार