सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ । सरस्वतीको पूजा आराधना गर्न विद्यार्थी एवं विद्याको क्षेत्रमा काम गर्नेको राजधानीको विभिन्न स्थानका सरस्वती मन्दिरमा भीड लागेको थियो । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । यसैले यी पेशा र व्यवसायमा रहेकाले सरस्वतीको विशेष आराधना गरेका छन् । सरस्वतीलाई तान्त्रिकले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस वर्ष भने शुक्र अस्त भएकाले विवाह, व्रतबन्धजस्ता कर्म यस पर्वमा गरिँदैन । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागे थियो । सरस्वतीलाई चढाइएको सात गेँडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।
‘शैक्षिक उन्नयनमा अग्रसर हुन सबैलाई प्रेरणा प्रदान होस्’ राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञान, सीप र सिर्जनाको सन्देश दिने वसन्तपञ्चमी पर्वले मुलुकको समग्र शैक्षिक उन्नयनमा अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् । राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै सरस्वती पूजाका अवसरमा बालबालिकालाई अक्षरारम्भ गराइने परम्परा रहिआएको उल्लेख गर्दै सो कामना गरेकी हुन् ।
राष्ट्रपतिद्वारा वसन्त श्रवण
राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोकाको नासलचोकमा वैदिक विधिपूर्वक वसन्त श्रवण गरेकी छन् । प्रत्येक वर्ष माघशुक्ल पञ्चमीका दिन हनुमानढोकाको नासलचोकमा राष्ट्राध्यक्षबाट वसन्त श्रवण गर्ने परम्परा मल्लकालदेखि शुरु भएको हो । समारोहमा राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायत संवैधानिक निकायका प्रमुख, उपप्रधानमन्त्री, मन्त्रिगण, सुरक्षा निकायका प्रमुखलगायत राष्ट्रसेवक कर्मचारीको उपस्थिति थियो । समारोहमा हनुमानढोका दरबार हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले ‘गीत गोविन्द’ महाकाव्यको दोस्रो अध्यायमा संस्कृत भाषामा रहेको वसन्त श्रवण गराउनुभएको थियो । सो अवसरमा नेपाली सेनाले सलामी दिनुका साथै राष्ट्रियगान र पञ्चैबाजासमेत प्रस्तुत गरेको थियो । मल्लकालमा वसन्तपुरको मोहनचोकमा वसन्तोत्सव मनाउने गरिएको थियो । कामदेवलाई माघशुक्ल पञ्चमीका दिन पूजा गरी वसन्तोत्सव गर्ने गरिएको हनुमानढोका दरबारमा रहेको अभिलेखमा उल्लेख छ । भक्तपुरमा रहेको जितामित्र मल्लको विसं १७४५ को अभिलेख र भूपतीन्द्र मल्लको विसं १७५५ को अभिलेखमा भने श्रीपञ्चमीमा राष्ट्रप्रमुखले वसन्त श्रवण गर्ने गरेको उल्लेख गरिएको पनि उहाँले बताउनुभयो । शाहकालदेखि भने हनुमानढोकाको नासलचोकमा वसन्त श्रवण गर्ने परम्परा शुरु भएको हो । कार्यक्रममा नेवारी भाषाको ‘बियाँचली’ रागसमेत गाइने गरिन्छ । सो अवसरमा कलाकारले सितारवादन पनि गरेको जनाइएको छ । वसन्त श्रवणपछि विशिष्ट अतिथिले मूल पुरोहितबाट टीका र प्रसाद ग्रहण गरी फर्कनुभएको हेरचाह अड्डाले जनाएको छ । वसन्त पञ्चमीका दिन नासलचोकमा पूजाको व्यवस्था निवृत्तिभरण कार्यालयले गर्ने गरेको छ । सुरक्षाको प्रबन्ध गृह मन्त्रालय र वसन्त श्रवण कार्यक्रमको व्यवस्थापन हनुमानढोका दरबार हेरचाह अड्डाले गर्ने गरेको छ ।