आज लक्ष्मीपूजा

यमपञ्चकको तेस्रो दिन
शनिबार, कात्तिक २९, २०७७

काठमाडौँ । आज यमपञ्चकको तेस्रो दिन अर्थात् लक्ष्मीपूजा । कार्तिक कृष्ण औँसीमा पर्ने यो पर्व साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा–आराधना गरी मनाइँदै छ । सफासुग्घर नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यतासाथ बिहानै घर सरसफाइ गरी लक्ष्मीलाई आमन्त्रण गरिन्छ । 
आज विशेष गरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरिन्छ । त्यसमा चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ ।
पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोका स्थानमा मैनबत्ती बाल्ने प्रचलन बढ्न थालेको छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिन्छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मीपूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिए ।
साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्ने प्रचलन छ । भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । लक्ष्मीपूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कुल परम्परानुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीय रुपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी दिए ।
यस वर्ष केही समूहले लक्ष्मीपूजा कात्तिक ३० गते मनाउने भनी गरे पनि त्यो शास्त्रीय मान्यताविपरीत रहेको समितिका सदस्य कीर्तिमदन जोशीले बताए । राजनीति गर्नेहरुले चाडपर्वको निर्णय गरेर समाजलाई भ्रमित गर्न खोजेको उनको आरोप छ ।

कुकुर तिहार पनि आजै
 

कुकुर पूजामा गरिँदै ।यसपालि कुकुर तिहार पनि आज शनिबार नै मनाइँदै छ । कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको समितिले जनाएको छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ । त्यसैले बिहान कुकुरलाई मीठो खानेकुरा खान दिएर यो पर्व मनाइँदै छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७  १२:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार