आज श्रीपञ्चमी 

सरस्वतीको पूजा–आराधाना गरी शिक्षारम्भ गरिँदै
मंगलबार, फागुन ४, २०७७

काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ  । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस वर्ष भने शुक्र अस्त भएकाले विवाह, व्रतबन्ध जस्ता कर्म यस पर्वमा गरिँदैन । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिन्छ । वसन्त श्रवणमा राजतन्त्र हुञ्जेल राजा जाने गरेकोमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुन थालेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार बिहान १०ः१७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको छ । वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी ुहुने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । 

प्रधानमन्त्रीद्वारा शुभकामना 
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना व्यक्त गरेका छन् । वसन्त पञ्चमी (श्रीपञ्चमी) तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उनले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना गरेका हुन् । 
वैद्धिककालदेखि नै प्रज्ञा प्रकाशको प्रतीकका रुपमा सरस्वती पूजा मनाइँदै छ । प्रधानमन्त्री ओलीले जनताको जीवनमा खुशी भर्न हामीले समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्ने बताए । सरस्वती पूजाको दिनलाई ससाना बालबालिकाको अक्षरारम्भ गर्ने दिवसका रुपमा पनि लिइन्छ ।  वेदाङ्ग ज्योतिषकालदेखि सनातन रुपमा मनाइँदै आएको यस पर्वको सम्बन्ध प्राकृतिक काल विभाजनसँग पनि रहेको छ । एक वर्षलाई छ वटा ऋतुमा विभाजन गरी माघ शुक्ल पञ्चमीलाई वसन्त ऋतुको आरम्भका रुपमा लिइएको छ । 
वसन्त ऋतुलाई श्रृष्टिकारक तथा मनोविनोदको ऋतुका रुपमा पनि लिइन्छ । वसन्त शुरु भएपछि फूलहरूमा बहार आउँछ, पुष्पसुगन्ध फैलिन्छ, रुखहरुमा पालुवा पलाउन थाल्छ र मानिस, चराचुरुङ्गी र रङ्गीन पुतलीको मन फुरुङ्ग हुन्छ भन्ने विश्वास छ । सरस्वतीलाई विद्याकी देवीका रुपमा पूजा गर्ने हाम्रो प्राचीन ज्ञान शास्त्रीय प्रचलन छ । यसमा ज्ञानलाई प्रकाश मानिएको छ र प्रकाशको उपस्थितिले अन्धकार, भय र अज्ञानता हट्ने उल्लेख छ । वैदिक मान्यताअनुसार सरस्वतीका शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र यन्त्रलाई नादको स्रोत मानिन्छ । सभ्यताको विकासक्रमसँगै सरस्वतीलाई बौद्धमार्गीहरुले मञ्जुश्रीका नामले पूजा गर्ने गरेका छन् । असल वा खराबको पहिचान गर्ने प्रकाशमय वुद्धि, संयम र विवेकको प्रतीकका रुपमा सरस्वतीलाई लिइन्छ ।–रासस 
 

प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  ०४:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार