सर्वाेच्च अदालतको मुख्य रजिष्ट्रारमा कुँवर नियुक्त

आइतबार, फागुन २, २०७७

काठमाडौं । सर्वाेच्च अदालतको मुख्य रजिष्ट्रारमा लालबहादुर कुँवर नियुक्त भएका छन् । न्यायपरिषद्को गत माघ ११ गते बसेको बैठकले तत्कालीन मुख्य रजिष्ट्रार नृपध्वज निरौलालाई मुख्य न्यायाधीशमा नियुक्त गरेपछि रिक्त रहेको मुख्य रजिष्ट्रार पदमा सर्वाेच्च अदालतका रजिष्ट्रार कुँवरलाई नियुक्त गरिएको हो ।
गत माघ २५ गते बसेको न्याय सेवा आयोगको बैठकले कुँवरलाई नियुक्तिको सिफारिस गरेपछि गत माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले कुँवरलाई मुख्य रजिष्ट्रारमा नियुक्ति गर्ने निर्णय गरेको हो । गुल्मी जिल्लाको धुर्काेटमा २०२९ पुस ४ गते जन्मेका कुँवर विसं २०५५ मा शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गरेका हुन् । 
सर्वाेच्च अदालतको रिक्त एक रजिष्ट्रारमा निर्मला पौडेललाई नियुक्त गरिएको छ । गत माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सर्वाेच्च अदालतको रजिष्ट्रारमा नियुक्त गरेको छ । पौडेल सर्वाेच्च अदालतको रजिष्ट्रारमा पुग्ने पहिलो महिला हुन् । यसअघि पौडेल प्रशासकीय अदालतको रजिष्ट्रार (सहरजिष्ट्रार) हुनुहुन्थ्यो । विसं २०२४ वैशाखमा विराटनगरमा जन्मनुभएकी पौडेल विसं २०५२ मङ्सिर महिनाबाट शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गर्नुभएको थियो । सर्वाेच्च अदालतको मुख्य रजिष्ट्रार नेपाल सरकारको मुख्यसचिव सरह र रजिष्ट्रार सचिव सरह हो ।
 

प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  २१:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार