सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बैतडीमा बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको हत्या सम्बन्धमा अविलम्ब सुक्ष्म, निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेका छन् । आयोगमा आज आयोजना गरिएको छलफल कार्यक्रममा कानून मन्त्रालयका सचिव ऋषिराज भण्डारी, गृह सचिव महेश्वर न्यौपाने तथा प्रहरी महानिरीक्षक शैलेश थापासँगको अन्तरसम्वादमा उनले भट्टको हत्यासम्बन्धी घटनामा निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न एवं सम्बन्धित पक्षको सुरक्षामा ध्यान दिन आयोगले यसअघि नै सरकारलाई आग्रह गरेको स्मरण गर्दै घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानूनी दायरामा ल्याउन प्रहरी महानिरीक्षकको ध्यानाकर्षण गराएको छ । अध्यक्ष मगरले न्यायका लागि अनशनमा बसेकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएकाले सरकारका तर्फबाट आवश्यक पहल गर्न आग्रह गरे । अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगको उच्चस्तरीय टोलीद्वारा अनुगमन नहुँदा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको सम्बन्धमा आयोगको ध्यानाकर्षण गराउँदै आएको छ ।
न्यायको माग गर्दै नेविसंघद्वारा प्रदर्शन
नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघले भागरथी भट्टको न्यायको माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेविसंघ केन्द्रीय समितिले आज बैतडीकी १७ वर्षीया किशोरी भट्टको बलात्कारपछि हत्या गरिएकाले हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै पद्मकन्या बहुमुखी क्याम्पस बागबजार अगाडि ¥याली तथा कोणसभा गरेको हो । कोणसभामा नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले सरकारले भट्टको हत्यारालाई तत्काल पक्राउ गरी न्यायको कठघरामा उभ्याउन माग गरे । नेपाल महिला संघका महासचिव एवं पूर्वराष्ट्रियसभा सदस्य धना खतिवडाले देशमा महिलामाथि दिनानुदिन हुने बलात्कार र हत्याको दुःखद् घडीमा महिला जागरुक बनेर सम्बद्ध निकायको ढोका घच्घच्याउँदै सरकार र समाजलाई खबरदारी गर्नुपर्ने अवस्था आएको बताए । भट्टलगायत आजसम्म बलात्कार र हत्यामा परेका नेपाली चेलीको न्यायका निम्ति नेविसङ्घले निरन्तर खबरदारी गर्ने संघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए । पद्मकन्या क्याम्पसबाट शुरु भएको विरोध ¥याली पुतलीसडक घुमेर पुन पद्मकन्या क्याम्पसमा आई कोणसभामा परिणत भएको थियो ।
कांग्रेसको केन्द्रीय प्रतिनिधि बैतडीमा
बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको घटनाको स्थलगत अवलोकन र अध्ययनका नेपाली कांग्रेसले केन्द्रीय प्रतिनिधिका रूपमा खटाएका नेता रमेश लेखक बैतडी पुगेका छन् । पूर्वमन्त्रीसमेत रहेका कांगे्रेस केन्द्रीय सदस्य लेखकले घटनाको स्थलगत अध्ययन गरी पार्टीलाई प्रतिवेदन बुझाउने छन् । केन्द्रीय प्रतिनिधि लेखकले घटनास्थलको अवलोकन, पीडित परिवारसँग भेटघाट, स्थानीय जनप्रतिनिधिसँग छलफल र घटनाका बारेमा प्रहरीले गरेको अनुसन्धानका विषयमा प्रदेश प्रहरी प्रमुखसँग छलफल गर्ने कार्यक्रम रहेको नेता लेखकका स्वकीय सचिव जनक भट्टले जानकारी दिए । स्थलगत अध्ययन र विभिन्न व्यक्तिसँगको छलफलपछि नेता लेखकले प्रतिवेदन पार्टीलाई बुझाउने छन् । लेखकले शनिबार कांग्रेस जिल्ला समितिसँग पनि छलफल गरेका थिए । कांग्रेसले नेता लेखकलाई घटनाको सत्यतथ्य बुझ्न, घटनाको अध्ययन गरी देखिएका विषयवस्तु समेटेर पार्टीलाई बुझाउने गरी खटाएको छ । घटनापश्चात विभिन्न पार्टीका नेता, कार्यकर्ता घटनास्थल र पीडित परिवारलाई भेट्ने क्रम चलिरहेको छ । यसअघि नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रसिंह थापा, कांग्रेस डडेल्धुराका सभापति तथा प्रदेशसभा सदस्य कर्ण मल्ल, लीलाधर भट्ट, पूर्वअर्थराज्यमन्त्री दामोदर भण्डारीलगायतका नेता कार्यकर्ताले घटनास्थलको अवलोकन र पीडित परिवारलाई भेटेका थिए । माघ २२ गते बलात्कारपछि हत्या गरिएकी भागरथीको शव स्थानीय लवलेक जङ्गलमा फेला परेको थियो । हालसम्म पनि अपराधी पत्ता लाग्न सकेको छैन । आफन्तले हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने अडान राखेका छन् । जिल्ला अस्पतालमा रहेको शवलाई सुरक्षित राख्न समस्या भइरहेको अस्पतालले जनाएको छ । यता प्रहरीले भने अपराधी नजिक पुगेकाले छिट्टै सार्वजनिक गर्ने जनाएको छ । घटनापश्चात घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी नेतृत्वको टोलीले गरिरहेको छ । उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाँखुसहित प्राविधिक रहेका छन् । यस्तै घटना भएको ११ दिन बितिसक्दासमेत अपराधी पत्ता नलागेको भन्दै शान्तिपूर्ण आन्दोलन पनि जारी छ । आज पनि स्थानीय सिल्लेगडा र खोचलेक बजार सिठ्ठी जुलुस प्रदर्शन गरेको संघर्ष समितिका सदस्य भोजराज जोशीले जानकारी दिए ।