काकाकुल राजधानी

खानेपानीको माग ४३ करोड, आपूर्ति आठ करोड लिटर मात्रै
आइतबार, फागुन २, २०७७

काठमाडौं । संघीय राजधानी काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको आवश्यकता छ तर आपूर्ति भने वर्षात्मा १५ करोड लिटर र हिउँदमा आठ करोड लिटरमात्र भइरहेको छ । वीरशम्शेरको पालादेखिको पाइप वितरण प्रणाली भएकाले करीब तीन करोड लिटर खानेपानी चुहावट हुने गरेको राजधानीमा आयोजित काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को १३औँ वार्षिकोत्सव कार्यक्रममा जानकारी दिइयो । संविधानमा मौलिक हकका रुपमा उल्लेख गरिएको खानेपानी २४सै घण्टा आपूर्ति हुनुपर्ने भए पनि स्रोतका कारण नसकिएको लिमिटेडका अधिकारीहरुको स्वीकारोक्ति छ । वार्षिकोत्सव कार्यक्रममा खानेपानी मन्त्री मणिचन्द्र थापाले संविधानमा मौलिक हकका रुपमा स्थापित खानेपानी सेवालाई चुस्त्रुपमा प्रवाह गर्न सरोकार भएका सबै निकाय लाग्नुपर्नेमा जोड दिए । ‘पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले देख्नुभएको मेलम्चीको सपना पूरा हुन लागेको छ, सपना देख्नेकै कार्यकालमा पूरा नभएपछि त्यसलाई अर्को पुस्ताले पूरा गर्नुपर्ने भएकाले अब हामी पूरा गर्ने चरणमा पुगेका छौँ, डेढ दशकदेखि उपत्यकावासीले शुद्ध खानेपानी पाउन गरेको आशा पूरा गर्न लागिपरेका छौँ’, उनले भने । मेलम्ची राष्ट्रिय गौरवको ठूलो आयोजना भएकाले यसको सफलता र असफलतामा देशको सफलता वा असफलता पनि जोडिएकाले कमाउको धन्दा, राजनीतिक मुद्दा नबनाउन मन्त्री थापाले आह्वान गरे । मन्त्रालयका सचिव माधव बेल्वासेले अव्यवस्थित शहरीकरणका कारण खानेपानीको वितरण प्रणालीको  चुहावट समस्या समाधानमा कठिनाइ भएको बताए । उपत्यकामा ३० देखि ४० प्रतिशत खानेपानी चुहावट भइरहेको उनले सुनाए । हाल लिमिटेडले पाँच करोड लिटर पानीमात्र बाँडिरहेको छ ।  विसं २०७८ को अन्त्यसम्म मेलम्चीको पानी राजधानीमा वितरण गर्ने मन्त्रालयको प्रतिबद्धता छ । मेलम्ची आएपछि हिउँदमा पनि २५ करोड लिटर पानी वितरण गर्न सकिने मन्त्रालयले जनाएको छ । धारामा पानी नआएपनि ८० देखि ८५ प्रतिशत उपभोक्ताले मासिकरुपमा महसुल तिरिरहेका छन् । लिमिटेडको अध्यक्ष एव) मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले केही दिनमा मेलम्चीको पानी सुरुङमा हालेर परीक्षण गरिने प्रतिबद्धता जनाए ।  मेलम्चीको पानी आएपछि लिमिटेडले पनि शाखवृद्धि हुने गरी काम गर्ने अवसर पाउने भएकाले त्यसको उपयोग गर्न पनि उनले आह्वान गरे ।  चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले भूकम्पपछि सुकेको मातातीर्थ र मच्छेगाउँमा फेरि पानी आउन थालेकाले त्यसलाई व्यवस्थित गरेर पानीको परिणाम बढाउन सकिने बताए । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले जनताको आधारभूत आवश्यकताका रुपमा रहेको खानेपानी नै पु¥याउन सकिएन भने विकासका ठूला कुरा गर्नुको अर्थ नभएकाले नगर सभ्यताको मापदण्डका आधारमा प्रत्येक घरका धारामा पानी खसाल्न लिमिटेड लाग्नुपर्ने बताए ।–रासस 
 

प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  ०६:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार