भागरथी हत्या प्रकरण : उच्चस्तरीय छानविन समिति गठन गर्न माग 

आइतबार, फागुन २, २०७७

कैलाली । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौला पन्तले बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको दोषीलाई कानूनीमा दायरामा ल्याउन सुदूरपश्चिम प्रदेश सरकारले तदारुकताका साथ उच्चस्तरीय छानविन समिति गठन गरी दोषी पत्ता लगाउने कार्यमा कदम चाल्न माग गरेकी छन् । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी किशोरी भट्टको बलात्कारपछि हत्या गरेको घटनामा संलग्न दोषिलाई चाँडो भन्दा चाँडो अनुसन्धान गरेर अपराधीलाई न्यायको कठघरामा उभ्याउन र भट्टको परिवारलाई न्याय दिलाउन सरकार सम्बद्ध सबै पक्षलाई अनुरोध गरिन् ।  नेतृ सङ्ग्रौलाले महिला अब कतै सुरक्षित नभएको भन्दै अब चेलिबेटी घरबाट निस्कन पनि डराउनुपर्ने अवस्था सिर्जना भएकाले यसकाविरुद्ध नागरिक समाजलगायत सम्बन्धित सबै पक्ष लाग्नुपर्नेमा जोड दिदैं भट्टका दोषीलाई चाडै पत्ता लगाएर कडा कारवाही गर्न सरकारसँग माग गरिन् ।

हत्यारा नजिक पुगेको प्रहरीको दाबी 

बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृत फेला परेको १० दिन पुगेको छ । गत माघ २२ गते विभत्स र निर्वस्त्र अवस्थामा स्थानीय लवलेक जङ्गलमा भागरथीको शव फेला परेको थिायो ।  दश दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । अनुसन्धानकै क्रममा रहेको अझै पनि बताइरहेको छ । दोषी पत्ता लाग्छ भन्ने कुरा ढुक्क हुन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको भनाइ छ । उनले भने, ‘हिजोअस्तिकोभन्दा अनुसन्धान साघुरिँदै गएको छ, छिट्टै दोषी पत्ता लाग्छ ।’‘घटनाको बृहत् र सूक्ष्म अनुसन्धानपछि अपराधी पत्ता लगाउने कुराको नजिक पुगेका छौ’, उनले भने, ‘विभिन्न कोणबाट अध्ययन र अनुसन्धान गर्दा एकदमै नजिक पुगेका हौँ ।’ घटनास्थलमा भेटिएका विभिन्न प्रमाणका आधारमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।  भागरथीले प्रयोग गरेको मोबाइललगायतका प्रमाणले अनुसन्धानमा सहज भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनले भने, ‘अनुसन्धान साघुरिँदै गएको छ, हामी छिट्टै अपराधीलाई सार्वजनिक गर्छौं ।’
घटना भएको १० दिन भएको भए पनि अझै भागरथीको अन्तिम दाहसंस्कार हुन सकेको छैन । भागरथीका आफन्तले हत्याराका पत्ता नलाग्दासम्म शव नबुझ्ने अडान लिएका छन् ।  
आफन्तले शव बुझ्न नमान्दा अस्पतालमा शव सुरक्षित राख्न समस्या भएको छ ।  अस्पतालमा शव सुरक्षित राख्ने ‘मर्चरी’ नहुँदा समस्या भएको जिल्ला अस्पताल बैतडीका डाक्टर वसन्तराज जोशीले जानकारी दिए । घटनास्थल तथा भागरथीको शवबाट अनुसन्धानका लागि चाहिने आवश्यक प्रमाण सङ्कलन भइसकेकाले शव बुझ्न प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आग्रह गरेका छन् । उनले भने, ‘आवश्यक प्रमाण सबै सङ्कलन भइसकेको छ, शव सुरक्षित राख्न निकै समस्या छ ।’ घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी नेतृत्वको टोलीले गरिरहेको छ । उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाँखुसहित प्राविधिक रहेका छन् ।   दोषी पत्ता नलागेको भन्दै यता शान्तिपूर्णरुपमा आन्दोलन पनि जारी छ । जिल्ला प्रशासन कार्यालय अगाडि घण्ट बजाएर प्रदर्शन गरिएको छ । अपराधीलाई यथाशीघ्र पत्ता लगाई कानूनी कारवाहीको माग गर्दै शान्तिपूर्णरुपमा आन्दोलनका कार्यक्रम भइरहेका भागरथी भट्टको न्यायका लागि गठित सङ्घर्ष समितिका सदस्य महेश दत्त भट्टले बताए । यसअघि माघ २६ गते दीप प्रज्वलन, २७ गते सिट्ठी जुलुस, २८ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र, २९ गते सदरमुकाममा प्रदर्शन, माघ ३० गते थाल ठड्याइएको थियो ।  घटना भएको दुई दिनसम्म चक्काजामलगायत विरोध प्रदर्शन गरिएको भए पनि प्रहरीले केही दिन आन्दोलन स्थगन गर्न आग्रह गरेअनुसार शान्तिपूर्णरुपमा प्रदर्शन भइरहेका हुन् । अनुसन्धान गर्न समस्या हुने भन्दै प्रहरीले आन्दोलनमा कार्यक्रम नगर्न आग्रह गरेको थियो । रासस 
 

प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  ०६:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार