भागरथी हत्या प्रकरण : दोषीलाई कारवाही गर्न महिला आयोगको माग 

शनिबार, फागुन १, २०७७

काठमाडौं । राष्ट्रिय महिला आयोगले बैतडीकी भागरथी भट्टको हत्या घटनामा सत्यतथ्य छानबीन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारसँग अपिल गरेको छ । आयोगकी सदस्य कृष्णकुमारी खतिवडा नेतृत्वमा घटनास्थल पुगेको टोलीले राज्यका तर्फबाट तत्काल अध्ययन अनुसन्धान शुरु भएको पाइएको बताइएको छ । अनुसन्धानमा खटिएका अधिकारी संवेदनशील भएर काम गरिरहेको टोलीले बताएको छ । आयोगले पीडितको परिवारको संरक्षणमा भने ध्यान दिन अनुरोध गरेको छ । आयोगकी अध्यक्ष कमला पराजुलीले सो घटनाका अपराधी पत्ता नलाग्ने नहोस् भनेर आयोग क्रियाशिल भएर लागेको बताइन् । घटना बाहिर आउनासाथ गृहमन्त्री रामबहादूर थापासँग गम्भीर छलफल भएको जानकारी दिँदै उनले घटनाबारे बुझ्नका लागि नै टोली पठाइएको बताइन् । आयोगकी सदस्य खतिवडाले आपूm घटनास्थल पुग्दा त्यहाँको प्रहरी निरन्तर अनुसन्धानमा लागिपरेको पाइएको जानकारी दिएकी छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोली र बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको नेतृत्वमा अनुसन्धान अघि बढिरहेकाले छिट्टै पीडक कानूनको दायरामा आउने उनको विश्वास छ । पीडितको बुबा भर्खरै बितेको र दाजु वैदेशिक रोजगारीमा भारत गएको र अहिले पनि आमा बिक्षिप्त भएको पाइएको टोलीले जनाएको छ । पीडित परिवारको सुरक्षा, संरक्षण र क्षतिपूर्ति दिनसमेतको आयोगले सरसँग अपिल गरेको छ । 

कांग्रेसद्वारा दोषीलाई अविलम्ब पक्राउ गर्न माग
 
नेपाली कांग्रेसले बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्न दोषी पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पीडामाथि पीडा भोग्नुको स्थितिलाई दुःखद्रूपमा लिएको जनाएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत उक्त घटनाको अनुसन्धान तीव्र बनाउन, दोषीलाई अविलम्ब पक्राउ गर्न, बैतडी घटनासँगै देशभरका सबै यस्ता घटनाविरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन प्रधानमन्त्रीसमक्ष माग गरेका छन् ।  शान्ति स्थापना र संविधान निर्माणपश्चात मुलुकमा अमनचयन स्थापना हुने र नागरिकको जीवन सुरक्षित बन्ने भन्ने विश्वास लिइए पनि यस्ता घटना भइरहनु गम्भीर चिन्ताको विषय बनेको विज्ञप्तिमा जनाइको छ ।  निर्मला पन्त प्रकरणका दोषी अझै कहीँ खुला घुमिरहेका तथा भागरथी र अरु धेरै छोरीको अपराधमा संलग्नहरू कानूनको कठघराभन्दा बाहिरै रहेको उल्लेख गर्दै कांग्रसले शान्ति सरक्षाका लागि प्रशासन संयन्त्रलाई थप चुस्त बनाउन अपिलसमेत गरेको छ । यसै क्रममा बैतडी घटनाको स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गर्न एवं स्थानीयवासी र परिवारजनसँग भेट गर्न कांग्रेस केन्द्रीय समितिको प्रतिनिधिका रूपमा पार्टीले केन्द्रीय सदस्य रमेश लेखकलाई बैतडी पठाएको जनाएको छ ।
प्रहरी अनुसन्धानमै 
बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको दोषी पत्ता लगाउन प्रहरीको सक्रियता र अनुसन्धान जारी छ । माघ २१ गते विद्यालय गएकोमा भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते विभत्स अवस्थामा स्थानीय लवलेक जङ्गलमा फेला परेकी थिइन् । 
‘शंकास्पद व्यक्तिलाई सोधपुछ गर्दा, कलडिटेललगायतबाट आफूहरू घटनाको एकदमै नजिक पुगेका हौं’, बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले भने, ‘विभिन्न कोणबाट गरेको अध्ययन र अनुसन्धानबाट हामी थप नजिक पुगेका छौँ, छिट्टै दोषी सार्वजनिक हुन्छ ।’ 
भागरथीको शव परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको भए पनि सामूहिक हो वा एक जनाले गरेको भन्ने पुष्टि हुन सकेको छैन । भागरथीको भजाइनल स्वाब सङ्कलन गरी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाइएकोले रिपोर्टपछि मात्रै सामूहिक हो वा एक जनाले बलात्कार गरेको खुल्ने प्रहरी नायब उपरीक्षक अधिकारीको भनाइ छ ।  उनले भने, ‘घटनास्थलमा भेटिएका प्रमाण पनि प्रयोगशालामा पठाएका छौँ, त्यसबाट थप कुरा थाहा हुन्छ ।’ घटनाको अनुसन्धान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआइजी उत्तमराज सुवेदी नेतृत्वको टोलीले गरिरहेको छ । उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक रहेका छन् ।    घटनाको नौ दिन बितिसक्दा दोषीलाई सार्वजनिक नगरिएको भन्दै भागरथीका आफन्त तथा स्थानीय आन्दोलित भएका छन् । गाउँपालिकामा गठन गरिएको संघर्ष समितिले यसअघि शैक्षिक हड्ताल, चक्काजाम र प्रदर्शन गरेको थियो । जिल्लामा गठन गरिएको संघर्ष समितिका आन्दोलनका कार्यक्रम पनि जारी छन् । हत्यारा पत्ता नलाग्दासम्म आन्दोलनका कार्यक्रम जारी रहने भट्टको न्यायका लागी गठित संघर्ष समितिका सदस्य महेशदत्त भट्टले बताए । घटनाको नौ दिन भएपनि भागरथीको दाहसंस्कार हुन सकेको छैन । अघिल्लो शनिबार शव परीक्षण सम्पन्न गरिएको भए पनि आफन्तले अझै शव बुझेका छैनन् । घटनाको सत्य तथ्य छानविन गरी हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने भागरथीका काका शिवराज भट्टले बताए । अस्पतालमा शव सुरक्षित राख्ने ‘मर्चरी’ नहुँदा समस्या भएको जिल्ला अस्पताल बैतडीका डा बसन्तराज जोशीले जानकारी दिए । ‘मर्चरी नहुँदा आइसमा राख्ने गरेका छौँ’, उनले भने ।–रासस
 

प्रकाशित मिति: शनिबार, फागुन १, २०७७  ०८:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार