सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारले सबै जाति जनजातिलाई खुसी पार्न चाडपर्व बिदा थप्ने तयारी गरेको छ । गृहमन्त्री रामबहादुर थापा सरकारी तयारीबारे शुक्रबार मुख खोले । उनले राजधानीमा आयोजित एक कार्यक्रममा भन्न पनि भ्याए, ‘आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन शुरु गरिन्छ ।’ सोनाम ल्होसार २८५७ को अवसरमा काठमाडौँको बूढानीलकण्ठमा आयोजित समारोहमा उनले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा कटौती भएकामा अहिले त्यो निर्णय सच्याएको भन्दै अब मन्त्रिपरिषद्बाटै निर्णय गराएर ती बिदा पात्रोमै सार्वजनिक बिदाका रूपमा रहने गरी निर्णय गरिने प्रतिबद्धता व्यक्त गरे । सो क्रममा आदिवासी जनजातिले मन्त्री थापालाई बिदा सुनिश्चित गर्न भन्दै ज्ञापनपत्र बुझाएका थिए । विगतमा जाति धर्मका समुदायले जुन स्थान पाउनुपर्ने थियो त्यो पाउन नसकेको बताउँदै परम्परा, भाषा र धर्म संरक्षणका निम्ति अधिकार प्राप्त गर्न नसकेकोमा दुःख व्यक्त गरे । उनले संस्कृति र परम्पराको संरक्षणका निम्ति र आदिवासी जनजातिले पाउने अधिकार स्थापित गर्न अझै प्रयास जरुरी रहेको बताए । जातीय समुदायको आर्थिक अवस्था सुधार गर्नसमेत जरुरी रहेको औँल्याउँदै उनले राज्यले सबै भाषाभाषी, जातजातिको समृद्धिका निम्ति समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य लिएको जानकारी दिए ।