सेनाले पृथ्वी जयन्तीमा पदयात्रादेखि चित्रकलासम्म आयोजना गर्दै

शुक्रबार, पुस २, २०७८

काठमाडौँ, २ पुस । नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ‘३००औँ जयन्ती तथा राष्ट्रिय एकता दिवस’ भव्यरूपमा मनाउने तयारी गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा पुस २७ गते सैनिक मुख्यालय जङ्गीअड्डास्थित नेपाली सेनाका संस्थापक प्रथम सेनापतिको शालिकमा माल्यार्पण, सलामी र सम्मान अर्पण गर्नेछन् ।

सेनाले मुलुक एकीकरणका अभियन्ता सम्मानमा एकता दिवसका अवसरमा यस वर्ष दिव्योपदेश प्रवचन, नालापानी चलचित्र प्रदर्शनी तथा कविता, हाजिरी जवाफ, चित्रकला र लेख÷रचना प्रतियोगिता आयोजना गर्न लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । विसं १७७९ पुस २७ गते गोरखामा जन्मिनुभएका पृथ्वीनारायण शाहले विसं १७९९  चैत २५ गते राजा भएसँगै नेपाल एकीकरण अभियान सुरु गरिएको थियो ।

सेनाले नेपाल राष्ट्र एकीकरणका सन्दर्भमा प्रयोग भएको मार्गमा विगत केही वर्षदेखि पृथ्वी जयन्तीका अवसरमा गोरखाबाट काठमाडौँसम्म ‘एकीकरण पदयात्रा’ गर्दै आएको छ । नेपाली सेना, स्थानीय जनता र विद्यार्थी सामेल पदयात्रा पुस २० गते गोरखाबाट सुरु भई धादिङ, नुवाकोट र नागार्जुन हुँदै पुस २७ गते हनुमानढोका आइपुग्ने छ । त्यसलगत्तै हनुमानढोकाबाट राष्ट्रनिर्माताको तस्वीर बग्गीमा राखेर नगर परिक्रममा गरिनेछ ।


 

प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  १२:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार