सोसल मिडिया
Contact Us
युनिकोड
मान्म, २ पुस । विसं २०७७ साउनमा आएको बाढीपहिराका करणले विस्थापित भएका कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका–४ भाटगाउँ, खाती रुप्सा, पाङ र वडा नं ७ बागाछान्ना र घोडेसिल्ला गाउँमा रु चार करोड लागतमा १०१ घर निर्माण हुने भएका छन् । बाढीपहिरो विस्थापित घरपरिवारलाई चालु आर्थिक वर्षमा नै नरहरिनाथ गाउँपालिकाकोे वडा नं ४ को डाँडासुन्दर बस्तीमा १०१ घर निर्माण हुने भएका हुन् । विसं २०७७ मा आएको बाढीपहिराका कारणले नरहरिनाथ गाउँपालिकामा १६ जनाले ज्यान गुमाएका थिए भने २०६ घरपरिवार विस्थापित भएका थिए । विस्थापित भएकामध्ये आर्थिक वर्षमा रु एक करोड ७० लाख लागतमा ५५ घर निर्माण गरिएका र थप १०१ घर निर्माण गरिने गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले जानकारी दिए । “गत आवमा कर्णाली प्रदेश सरकारको सहयोगमा ५५ घर निर्माण गरेर एकीकृत बस्ती बसालेका छौँ”, उनले भने, “थप त्यही ठाउँमा चालु आवमा १०१ घर निर्माण हुनेछन् ।”
नमूना बस्तीमा रु ४० लाख विद्यालय भवन निर्माण हुने र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रु २६ लाख लागतमा विद्यालयको फिल्ड निर्माण गरिने उपाध्यक्ष बुढाले बताए । “हामीले नमूना बस्तीमा ५५ घर निर्माण गरेर समुदायलाई हस्तान्तरण गरिसकेका छौँ । खानेपानी, विद्यालय निर्माणलगायत भौतिक पूर्वाधारका संरचना निर्माण गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “बस्ती पुनःनिर्माणको कामलाई यथाशीघ्र बढाई समयमै काम सम्पन्न गर्ने गरी कामको थालनी भएको छ ।”