प्रतिनिधिसभाको आजको बैठकमा पाँच अध्यादेश पेश गरिने कार्यसूची, एमालेले सदन चल्न दिएला ?

मंगलबार, मंसिर २८, २०७८

काठमाडौँ, २८ मङ्सिर । आजदेखि सुरु हुने सङ्घीय संसद्को दशौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ सहित विभिन्न पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।
संसद् सचिवालयका अनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश–२०७८, तेजाब तथा घातक रसायनिक पदार्थ नियमन, अध्यादेश–२०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७८ पेश गर्नुहुनेछ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश–२०७८ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्त्री पत्र पढेर सुनाउने र सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नामावली मनोनयन बैठकको प्रारम्भमा हुनेछ । सत्ता पक्षले संसद् बैठकमा अध्यादेश पेश गर्ने तयारी गरेपनि प्रमुख प्रतिपक्षी एमालेले संसद् अधिवेशन चल्न नदिने बताएका कारण संसस् सूचारु हुने देखिँदैन । एमालेले यसअघि नै आफूले कारवाही गरी निष्काशन गरेका मानिसहरु राखेर संसद् कसरी चल्ला भन्ने प्रश्न उठाइसकेको छ । यसअघिको संसद् अधिवेशनमा पनि एमालेले पटक पटक अवरोध सृजना गरेको थियो । धेरै पटक संसद् सचिवालयका मर्यदापालक तथा एमालेका सांसदबीच घम्सा घम्सी नै भएका थिए । 

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  ०५:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार